काठमाडौँ । नेपालका नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गर्नुभएको छ ।
राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा मंगलबार आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि अर्थात् झन्डै १४ करोड रुपैयाँको पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गर्नुभएको हो ।
आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुई वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति-संस्थालाई प्रदान गरिँदै आएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो ।
नेत्र चिकित्सक डा. रुइतले आफ्नै हातले अहिलेसम्म १ लाख २५ हजार भन्दा धेरै व्यक्तिको शल्यक्रिया गरिसक्नुभएको छ र ७० भन्दा बढी देशमा प्रत्यक्ष-परोक्ष सेवा दिइसक्नुभएको छ ।
रुइतको प्रयासले इन्ट्राअक्युलर लेन्स(प्रति)को मूल्य ३ डलरमै उत्पादन सम्भव भएको छ । नेपालमै उत्पादित करीब ६० लाख इन्ट्राअक्युलर लेन्स विश्वभर वितरण भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९, १७:२३:००