बाँके । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत एक बिरामीको निधनपछि उत्पन्न घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष जागेश्वर बस्नेतद्वारा जारी विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै, यस दुःखद घडीमा परिवारले भोगेको पीडाप्रति पूर्ण संवेदनशील रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा घटनापश्चात केही व्यक्तिहरूले अस्पताल परिसरमा पुगेर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, गालीगलौज र धम्की दिएको तथा सामाजिक सञ्जालमार्फत अभद्र अभिव्यक्ति सार्वजनिक गरिएकोप्रति आपत्ति जनाइएको छ। यस्तो गतिविधि निन्दनीय भएको संघले ठहर गरेको जनाएको छ।
संघले बिरामी उपचारका क्रममा स्वास्थ्यकर्मीहरूले आफ्नो ज्ञान, सीप र उपलब्ध स्रोतको अधिकतम प्रयोग गर्दै जीवन रक्षा गर्न प्रयास गर्ने गरेको उल्लेख गर्दै सबै बिरामी निको भएर फर्किन नसक्ने यथार्थलाई संवेदनशील रूपमा बुझ्न आग्रह समेत गरेको छ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि दुर्व्यवहारले सेवा प्रवाहमा नकारात्मक असर पार्ने भन्दै संघले यस्ता गतिविधि अस्वीकार्य हुने स्पष्ट पारेको छ।
घटनामा संलग्नमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) अनुसार कडा कारबाही गर्न तथा स्वास्थ्य संस्थामा सुरक्षित र भयरहित वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग संघद्वारा माग गरिएको छ।
साथै, सम्पूर्ण सरोकारवाला र सर्वसाधारणलाई घटनालाई संयमता र यथार्थपरक दृष्टिकोणबाट हेर्दै स्वास्थ्य संस्थाको गरिमा कायम राख्न सहयोग गर्न नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले आग्रह गरेको छ।
यस्तो छ विज्ञप्तिको पूरा अंश-
प्रेस विज्ञप्ति
फोन नं. ०८१-५२७७७३
नेपालगंज स्थित भेरी अस्पतालमा उपचाररत एक बिरामीको दुःखद निधन भएको घटना प्रति हामी गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। यस दुःखद घडीमा परिवारले भोग्नुपरेको पीडा र भावनात्मक अवस्थाप्रति हामी पूर्ण रूपमा संवेदनशील छौं।
उक्त घटनापश्चात मृतकका केही आफन्त तथा अन्य व्यक्तिहरूद्वारा अस्पताल परिसरमा उपस्थित भई चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि दुर्व्यवहार, गालीगलौज तथा धम्कीपूर्ण व्यवहार गरिएको घटनाप्रति नेपाल स्वास्थ्यकमी संघ बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ। साथै सामाजिक सञ्जालमार्फत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी अभद्र तथा धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरिनु दुःखद र निन्दनीय विषय हो।
बिरामीको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले उपलब्ध ज्ञान, सीप, अनुभव तथा स्रोत-साधनको अधिकतम प्रयोग गर्दै जीवन रक्षा र स्वास्थ्य सुधारका लागि निरन्तर प्रयास गर्ने गर्दछन्। अस्पतालमा उपचारका लागि आउने धेरैजसो विरामीहरू स्वास्थ्यलाभ गरी घर फर्कने भए तापनि, केही विरामीहरू गम्भीर अवस्थामै अस्पताल आइपुग्ने तथा सम्पूर्ण प्रयासका बाबजुद उपचार सफल हुन नसकी दुर्भाग्यवश मृत्यु हुन सक्ने यथार्थलाई सबै पक्षले संवेदनशील रूपमा बुझिदिनु आवश्यक छ।
अस्पताल जस्तो अत्यन्त संवेदनशील तथा जनसेवासँग प्रत्यक्ष जोडिएको क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको मनोबल, पेशागत सुरक्षा र सेवा वातावरणमा प्रतिकूल असर पार्ने कुनै पनि प्रकारको दुर्व्यवहार वा धम्कीपूर्ण गतिविधि स्वीकार्य हुन सक्दैन। यस्ता घटनाले समग्र स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक प्रभाव पार्ने भएकाले घटनामा संलग्न व्यक्तिहरूलाई प्रचलित कानून, विशेषतः "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम आवश्यक कानुनी कारवाही गरी स्वास्थ्य संस्थामा सुरक्षित, मर्यादित र भयरहित वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गरिन्छ।
साथै सम्पूर्ण सरोकारवाला तथा सर्वसाधारणमा यस दुःखद घटनालाई संवेदनशीलता, संयमता र यथार्थपरक दृष्टिकोणबाट हेरी स्वास्थ्य संस्थाको गरिमा तथा सेवा वातावरण कायम राख सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं।
मितिः २०८३/०१/१६
जागेश्वर बस्नेत
अध्यक्ष