काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकको पहिचान गर्न बाँके र बर्दियामा आफन्तको डीएनए नमूना सङ्कलन सुरु गरिएको छ । बाढीका कारण बेपत्ता भएका तथा फेला परेका शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचानमा समस्या भएपछि आफन्तको डीएनए परीक्षण गर्न लागिएको हो ।
त्यसका लागि बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये पहिलो तहका नातेदारको रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।
बाँकेमा हालसम्म १६ जना आफन्तको डीएनए नमूना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्जमा सम्पर्कमा आएका आफन्तको भेरी अस्पतालमा नमूना लिइएको हो भने अन्य आफन्तको काठमाडौं र चितवनस्थित अस्पतालबाट समेत नमूना सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।
डीएनए परीक्षणपछि बेपत्ता आफन्तको अवस्था यकिन हुने आशामा पीडित परिवार छन् । नेपालगञ्ज–२० का अनलाल रोकायाले बाढीपछि एकैपटक बेपत्ता भएका आफ्ना १९ वर्षीय छोरा दीपक तथा ५३ वर्षीय दाजु शेरसिंह र ५६ वर्षीय भाउजू विष्णुमतीको पहिचान हुने विश्वास व्यक्त गरेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार जिल्लाका २३ जना अझै बेपत्ता छन् । बाढीपछि तीनजनाको शव पहिचान भइसकेको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ ।
उता, बर्दियामा पनि बाढीपछि सम्पर्कविहीन भएका नागरिकको पहिचानका लागि आजदेखि डीएनए नमूना सङ्कलन थालिएको छ । जिल्ला प्रहरी कार्यालय, गुलरियामा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नमूना सङ्कलन भइरहेको प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।
बर्दियाका सम्पर्कविहीन रहेका व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एकजनाले डीएनए नमूना दिन सक्नेछन् । नमूना सङ्कलनका लागि जिल्ला अस्पतालले समेत सहयोग गरिरहेको प्रहरीले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने नमूना सङ्कलनमा सहभागी हुन आफन्तलाई परिचय खुल्ने आधिकारिक कागजात र पासपोर्ट साइजका दुई प्रति फोटो लिएर उपस्थित हुन आग्रह गरिएको छ ।
बर्दियामा बारबर्दिया र बाँसगढी नगरपालिका तथा गेरुवा गाउँपालिकालगायत क्षेत्रका ७४ जना सम्पर्कविहीन रहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।