नेपालगञ्ज । करिब दुई वर्षदेखि प्राविधिक कारणले अवरुद्ध रहेको भेरी अस्पतालको सीटी स्क्यान सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको छ । अस्पतालले सूचना जारी गर्दै अबदेखि विशेषज्ञ चिकित्सकको सिफारिस अनुसार आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीले अस्पतालमै सहज, सुरक्षित तथा गुणस्तरीय सीटी स्क्यान सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
अस्पतालका अनुसार सेवा पुनः सञ्चालनसँगै बिरामीले सीटी स्क्यानका लागि अन्य अस्पताल वा निजी स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता हट्ने, समयमै रोगको पहिचान तथा उपचारमा सहजता हुने र उपचार खर्चसमेत कम हुने अपेक्षा गरिएको छ ।
भेरी अस्पतालले वर्षौंदेखि सेवाग्राहीहरूले देखाउँदै आएको विश्वास, साथ र सद्भावप्रति आभार व्यक्त गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि निरन्तर प्रयासरत रहेको जनाएको छ ।
अस्पतालले जारी गरेको सूचनामा भेरी अस्पताल उपचार गर्ने संस्था मात्र नभई जनताको विश्वासको केन्द्र रहेको उल्लेख गर्दै पछिल्ला दिनहरूमा सेवा विस्तार, सेवा व्यवस्थापन सुधार, आधुनिक उपकरणहरूको सञ्चालन, विशेषज्ञ सेवाको सुदृढीकरण, बिरामीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर काम भइरहेको उल्लेख गरिएको छ ।
अस्पतालले आगामी दिनमा पनि सेवाग्राहीको सुझाव, विश्वास र सहकार्यलाई आत्मसात गर्दै अझ प्रभावकारी, पारदर्शी, सुशासनयुक्त तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।