काठमाडौँ। फिफा विश्वकप-२०२६ अन्तर्गत समूह चरणको खेलमा ब्रजिलले हैटीमाथि पूर्ण प्रभुत्व जमाउँदै ३-० को जित निकालेको छ। विश्व फुटबलको सबैभन्दा सफल राष्ट्रमध्ये एक मानिने ब्रजिलले पाँच पटक फिफा विश्वकपको उपाधि जितिसकेको छ।
त्यही इतिहास र दबदबासहित मैदान उत्रिएको ब्रजिलले यस खेलमा पनि आफ्नो पुरानो छवि दोहोर्याउँदै उत्कृष्ट प्रदर्शन गरेको हो।
खेल सुरुदेखि नै ब्रजिलको नियन्त्रणमा रहेको थियो। तीव्र पासिङ, उच्च दबाब र आक्रामक शैलीमार्फत ब्रजिलले विपक्षीलाई खेलमा फर्किनै दिएन। म्याथ्यूस कुन्हाले दुई गोल गर्दै ब्रजिलको आक्रमणलाई नेतृत्व दिए।
उनले २३ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३६ औँ मिनेटमा अर्को गोल थप्दै ब्रजिललाई थप बलियो स्थितिमा पुर्याए। पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले तेस्रो गोल गर्दै ब्रजिलको प्रभुत्वलाई अझ स्पष्ट बनाए।
हैटीले केही क्षणमा काउन्टर-अट्याकको प्रयास गरे पनि ब्रजिलको संगठित र सुदृढ डिफेन्स तोड्न सकेन।
यो जितसँगै ब्रजिलले समूह चरणमा महत्वपूर्ण तीन अंक जोड्दै नकआउट चरणतर्फ आफ्नो यात्रालाई थप मजबुत बनाएको छ। यसअघि ब्राजिलले मोरक्कोसँगको आफ्नो पहिलो खेल बराबरी खेलेको थियो।
आज बिहान फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको छ।
खेलमा मोरक्कोका लागि इलियास साइबारीले खेलको दोस्रो मिनेटमै निर्णायक गोल गरेका थिए। प्रारम्भिक अग्रता लिएपछि मोरक्कोले खेलभर बलमाथि नियन्त्रण कायम राख्दै स्कटल्यान्डलाई बराबरीको अवसर दिन चाहेन।
साइबारीको सुरुआती गोल नै खेलको नतिजा तय गर्न पर्याप्त बन्यो। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।
यस जितसँगै मोरक्कोले दुई खेलबाट ४ अंक जोड्दै समूह ‘सी’ मा आफ्नो नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। पराजित स्कटल्यान्ड भने ३ अंकमै सीमित रहेको छ।