सुर्खेत । लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन्।
प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि विभिन्न खेलका प्रतिस्पर्धा भने त्यसअघि नै सञ्चालन हुन लागेका हुन्।
प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार पहिलो दिन पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ खेलमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडीहरू वीरेन्द्रनगर पुगिसकेका छन्।
कुल ३२ खेल समावेश गरिएको प्रतियोगितामध्ये २३ खेल सुर्खेतमा आयोजना हुँदैछन्। एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङलगायत खेल सुर्खेतमा सञ्चालन हुनेछन्।
अन्य खेलहरू भने कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाँडिएका छन्। टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख तथा बुद्धिचाल कालिकोटमा आयोजना हुनेछन्। पौडी र सुटिङका खेल नेपालगञ्जमा सञ्चालन हुने तालिका छ।
प्रतियोगिताका लागि वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा गरिएको आयोजकले जनाएको छ। खेल सञ्चालन हुने वीरेन्द्रनगरस्थित रंगशाला सोमबार नै हस्तान्तरणसँगै उद्घाटन गरिएको छ। रंगशालाको उद्घाटन मुख्यमन्त्री मङ्गलबहादुर शाहीले गरेका हुन्।
प्रतियोगिताबारे प्रचारप्रसार र खेलकुदको माहोल निर्माण गर्न वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्यालीसमेत निकालिएको थियो। र्यालीमा मुख्यमन्त्री, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का पदाधिकारी, खेलाडी तथा स्थानीयको सहभागिता थियो।
कर्णालीमा लामो समयको प्रतीक्षापछि आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा हुनेछन्। प्रतियोगिताको उद्घाटन र समापन समारोह पनि वीरेन्द्रनगरस्थित रंगशालामै आयोजना गरिनेछ।
मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगिता मङ्सिर २७ गते समापन गर्ने कार्यतालिका रहेको छ।