काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी अधिकृतहरूको कार्यक्षेत्र परिवर्तन गर्दै विभिन्न विभाग तथा कार्यालयमा नयाँ जिम्मेवारी तोकेको छ । प्रहरी महानिरीक्षक डा. मनोज केसीको निर्णयअनुसार तीन जना प्रहरी उपरीक्षक(एसपी) सहित आठ जना प्रहरी नायब उपरीक्षक(डीएसपी) को काज सरुवा गरिएको छ ।
प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा नयाँ जिम्मेवारी तोक्ने क्रममा कार्जी कुमार आचार्यलाई ल्याइएको छ । यसअघि उक्त शाखामा रहेका निरञ्जन दत्त भट्टलाई सिन्धुपाल्चोक प्रहरी प्रमुखको जिम्मेवारीमा पठाइएको छ ।
त्यस्तै, एसपी सुदीप पाठकलाई विशेष ब्युरोमा खटाइएको छ । प्रहरी प्रधान कार्यालयले डीएसपी तहमा पनि विभिन्न शाखा र मातहतका कार्यालयमा जिम्मेवारी अदलबदल गरेको छ ।
नयाँ व्यवस्थाअनुसार विश्वराज अधिकारीले केन्द्रीय लेखा, तर्कराज पाण्डेले आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय र दानबहादुर थापाले कर्मचारी प्रशासन शाखाको जिम्मेवारी सम्हाल्नेछन् ।
त्यसैगरी मदक कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रकाश थापालाई पहरा गण र शेखरजंग मल्ललाई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पठाइएको छ ।
जिल्ला तथा इलाका तहमा कार्यरत प्रहरी अधिकृतहरूको पनि जिम्मेवारी परिवर्तन गरिएको छ । अछाममा कार्यरत डीएसपी पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा ल्याइएको छ भने दमकमा कार्यरत डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालतस्थित सुरक्षा कार्यालयमा खटाइएको छ ।
प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार बम र बस्नेतलाई प्रहरी स्टाफ कलेजको तयारीमा समय दिन सहज हुने गरी तुलनात्मक रूपमा कम कार्यबोझ भएका कार्यालयमा जिम्मेवारी दिइएको हो ।
यस काज सरुवामार्फत प्रहरी प्रधान कार्यालयका विभिन्न शाखादेखि जिल्ला र मातहतका कार्यालयसम्म अधिकृतहरूको कार्यजिम्मेवारी परिवर्तन गरिएको छ ।