नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा रेडियो कृष्णसार एफएम नेपालगञ्जको समन्वयमा “भर्ना अभियान र विद्यालय बाहिर रहेका बालबालिकाको शिक्षामा पहुँच बढाउन सरोकारवालाको भूमिका” विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले नेपालगञ्जमा अझै करिब ४ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको जानकारी दिए । उनले लक्षित वर्गका बालबालिकालाई विद्यालयमा ल्याउन शैक्षिक सामग्री सहयोग, जनप्रतिनिधिसँग समन्वय तथा विशेष अभियान सञ्चालन भइरहे पनि भर्ना भन्दा विद्यार्थीलाई विद्यालयमा टिकाइराख्नु अहिलेको मुख्य चुनौती रहेको बताए ।
शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईले विद्यालय बाहिर रहेका बालबालिकाको यथार्थ तथ्यांक संकलनका लागि सामुदायिक अध्ययन केन्द्र, विद्यालय तथा गैरसरकारी संस्थाहरूलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बालबालिकालाई विद्यालयमा भर्ना गराउनु मात्र पर्याप्त नभएको उल्लेख गर्दै उनीहरूलाई विद्यालयमा टिकाइराख्ने र सिकाइ उपलब्धि सुधार्ने विषयमा सबै पक्षले ध्यान दिनुपर्ने बताए । स्थानीय सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था अनुसार रणनीति निर्माण गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
गैरसरकारी संस्था महासंघ बाँकेका कार्यवाहक अध्यक्ष मनप्रसाद भण्डारीले संवाद कार्यक्रममा उठेका सुझावहरू कार्यान्वयन गर्न सके शिक्षाका धेरै समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे । त्यस्तै, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले आधारभूत तहसम्मको शिक्षालाई विद्यालयमै प्रभावकारी बनाउनुपर्ने र माध्यमिक तहका विद्यार्थीलाई सीप तथा रोजगारीसँग जोड्ने कार्यक्रम आवश्यक रहेको धारणा राखे । नेपाल शिक्षक महासंघ नेपालगञ्ज नगर समितिका अध्यक्ष सुमोद रिजालले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय तहसहित सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँदै शिक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
नेपालगञ्ज नगर शिक्षा समितिका सदस्य गोकर्ण अचार्यले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनीहरूका लागि विशेष कार्यक्रम, आवश्यक शैक्षिक सामग्री, स्रोत कक्षा तथा शिक्षक तालिमको व्यवस्था गर्नुपर्ने बताए । महिला विकास अधिकृत आशा कुमारी शाहीले अभिभावकको सचेतनाको कमी, जन्मदर्ता तथा नागरिकता सम्बन्धी समस्याका कारण कतिपय बालबालिकाको शिक्षामा पहुँच प्रभावित भइरहेको बताइन् ।
शिक्षाविद् किरण आचार्यले सामुदायिक विद्यालयमा दक्ष शिक्षक भए पनि सिकाइ पद्धतिमा सुधार आवश्यक रहेको बताउँदै बालबालिकामा प्रारम्भिक तहदेखि नै पढ्ने, लेख्ने तथा सीप सिक्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखिन् । संवाद कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूले घरदैलो कार्यक्रम सञ्चालन, अभिभावक सचेतना अभिवृद्धि, विद्यालय छोड्ने दर न्यूनीकरण, बालश्रम तथा बालविवाह नियन्त्रण, अपाङ्गतामैत्री शिक्षा र स्थानीय तहको स्पष्ट शिक्षा योजनाको आवश्यकतामा जोड दिएका थिए ।
विद्यार्थी प्रतिनिधिहरू प्रिन्सी थापा मगर, टंकप्रसाद उपाध्याय र सुमित्रा मल्लले विद्यालय बाहिर रहेका बालबालिकाको खोजी, बालश्रम तथा बालविवाह नियन्त्रण तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग उपलब्ध गराउनुपर्ने सुझाव दिएका थिए ।
रेडियो कृष्णसार एफएमका स्टेशन म्यानेजर सावित्री गिरीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक शम्भु थारुले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा विद्यार्थीको सहभागिता रहेको थियो।
संवाद कार्यक्रमले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन तथा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सबै सरोकारवालाबीच साझा प्रतिबद्धता र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।