अर्पणा योगी, बर्दिया । बर्दिया प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका-०९ माछागढ निवासी ३६ वर्षीय लालीराम थारु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दिया मातहतको ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरी टोलीले थारुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) हिक्मत बहादुर बोहराका अनुसार प्रहरी टोलीले मिति २०७९।११।१३ गते लुकिछिपी बसेको अवस्थामा थारुलाई उनकै घर वतनबाटै पक्राउ गरी आवश्यक कारबाहीको लागी मिति २०७९।११।१४ गते जिल्ला अदालत बर्दियामा पठाइएकोमा तोकिएको जरिवाना रकम तिर्न नसकेपछि अदालतको आदेशले जरिवाना रकम बापतको १० वर्ष कैद सजाय भुक्तानको लागी कारागार कार्यालय बर्दियामा पठाइएको छ ।
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७९।०९।२८ गतेको फैसला आदेशले बैङ्किङ कसुर मुद्दामा थारुलाई रु. ५०,००,०००/- (पचास लाख) जरिवाना तोकेको थियो ।
बर्दिया प्रहरीले अदालतको आदेश पछि सजाय तोकिएका फरार प्रतिवादीहरूलाई धमाधम पक्राउ गर्दै आएको छ । अदालतको आदेश कार्यान्वयन गर्न गराउन बर्दिया प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई तीव्रता दिँदै प्राथमिकतामा राख्दै आएको छ । यस अघि पनि प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गरेर कानुनको दायरामा ल्याएको अवस्था छ ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९, १०:०९:००