बर्दिया । बर्दियामा तस्करको दबाबमा प्रहरी इन्चार्जको सरुवा गरिएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ धनौरा सीमा नाका भएर तस्करहरूले भन्सार छलेर व्यापक रूपमा सामानहरू ल्याउने गरेका छन् ।
धनौरा सीमा तस्करीको केन्द्रको रूपमा विकास हुँदै गएको छ । यही सीमामा कडाइ गरेपछि धनौरा प्रहरी चौकीका इन्चार्ज डिल राज गिरीको अकस्मात् सरुवा गरिएको छ ।
स्रोतका अनुसार अवैध चोरी पैठारीका सामान धमाधम पक्राउ गर्न लागेपछि तस्करले राजनीतिक दलका एक प्रदेश सांसदलाई प्रयोग गरेर सरुवा गराएका हुन । ईलाका प्रहरी कार्यालय ढोढरी र मातहतको प्रहरी चौकी धनौराले यस अघि मल लगायतका चोरी पैठारीका सामान पक्राउ गरेको थियो ।
प्रहरीले उक्त नाकामा कडाइ गरेपछि तस्करहरूको रोजीरोटी सङ्कटमा परेको थियो । त्यसपछि प्रहरीलाई राजनीतिक दलका नेताहरूले चर्को दबाब दिन थालेका थिए । इन्चार्ज गिरीलाई सरुवा गराउन दलका नेताहरू लागिपरेका थिए । अहिले इन्चार्ज गिरीलाई जिल्ला तानिएको छ ।
स्रोतका अनुसार तस्करले बर्दियाका केही नेतालाई प्रयोग गरेर चर्को दबाब सृजना गरेका थिए । यो घटनाले ईमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्ने प्रहरी अधिकारीको मनोबल कमजोर गराएको छ । एक प्रहरी अधिकारीले भने, "राम्रो काम गर्दा समेत हाम्रो सरुवा हुन्छ, यस्तै छ यहाँको चलन ।"
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९, ११:१६:००