कोरोना संक्रमणको दर बढेपछि काठमाडौं उपत्यकामा आजबाट स्मार्ट लकडाउन: के गर्न पाइने र के गर्न नपाउने ?
काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा आजबाट स्मार्ट लकडाउन लागु गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो ।
स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागू भएको छ । अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ ।
त्यस्तैसार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने छ । भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । । यस्तै माघ १५ सम्म विद्यालय बन्द गरिएको छ । आन्तरिक राजस्व, बैङ्क तथा वित्तीय संस्था आदिमा भीडभाड नहुने गरी काम गर्न भनिएको छ ।
उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ ।
पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।
जिल्ला प्रशासन, मालपोत, नापी, यातायात व्यवस्था, आन्तरिक राजस्व, बैङ्क तथा वित्तीय संस्था आदिमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर सेवा प्रवाह गर्न भनिएको छ । कोभिड–१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी पुनः सञ्चालनमा ल्याउन र अक्सिजनको आपूर्ति सहज भनिएको छ ।