काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी नाबालिका तथा महिलाहरूको चरित्र हत्या, अश्लील सामग्री प्रसारण, दुर्व्यवहार र ब्ल्याकमेलिङमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना बालकसमेत रहेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्यूरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ‘अपरेसन डिजिटल स्वाभिमान स् महिला तथा बालबालिकाको सम्मान’ अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–१ का २६ वर्षीय आशिष तामाङ, ललितपुर महानगरपालिका–१४ का ३७ वर्षीय रोहित विक्रम राणा, काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने भारतको बिहार घर भएका ३२ वर्षीय महमद फेसल एजाज, इलाम देउमाई नगरपालिका–९ का ३७ वर्षीय विमल दर्जी खत्री, म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका ५६ वर्षीय दिलबहादुर मगर, उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का २५ वर्षीय सुवास कार्की र काठमाडौं महानगरपालिका–१० बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का ३२ वर्षीय चिरञ्जीवी सापकोटा रहेका छन्। यस्तै, १६ र १५ वर्षका दुई जना बालकलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार साइबर ब्यूरोबाट खटिएको टोलीले आशिषलाई काठमाडौंको टोखा, रोहितलाई ललितपुरको सातदोबाटो, महमद फेसललाई काठमाडौंको न्युरोड र विमललाई सिनामंगलबाट बुधबार पक्राउ गरेको हो। चिरञ्जीवीलाई भने बिहीबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको हो।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले दिलबहादुरलाई उनकै घरबाट, जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले सुवासलाई उनकै घरबाट बुधबार पक्राउ गरेको हो। कास्की प्रहरीले दुई बालकलाई बिहीबार पोखराबाट नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार आशिषले फेसबुकमा नक्कली खाता बनाएर नाबालिकाको अश्लील तस्बिर तथा भिडियो उनका आफन्त र साथीहरूलाई पठाई चरित्र हत्या गरेको खुलेको छ। रोहितले सामाजिक सञ्जाल इमोमार्फत एक युवतीलाई अश्लील, अपमानजनक तथा आपत्तिजनक अभिव्यक्ति दिँदै दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ।
त्यस्तै, महमद फेसलले प्रेम सम्बन्ध टुटेपछि पीडितको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी चरित्र हत्या गरेको, विमलले नक्कली टिकटक खातामार्फत पीडितका गोप्य तस्बिर तथा भिडियो प्रसारण गरेको र दिलबहादुरले फेसबुकमार्फत अश्लील गालीगलौज गरी पीडितलाई मानसिक यातना दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसैगरी, सुवासले फेसबुकमा नक्कली खाता बनाएर पीडितलाई अश्लील तस्बिर तथा भिडियो पठाउँदै ब्ल्याकमेलिङ गरेको, चिरञ्जीवीले ह्वाट्सएपमार्फत महिलालाई अश्लील गालीगलौज गरी चरित्र हत्या गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुई बालकले भने पीडितको सामाजिक सञ्जाल खाता ह्याक गरी अश्लील तस्बिर तथा भिडियो तयार पारेर सार्वजनिक गरिदिने धम्की दिँदै रकम माग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पक्राउ परेका सबैमाथि विद्युतीय(इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा सम्बन्धित जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।