काठमाडौँ । प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । प्रदेश–२ सरकारले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ ।
सो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
बर्दिबासस्थित अख्तियारको कार्यालयबाट गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कागाजत नियन्त्रणमा लिएर फर्किएको छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर साइकल खरिदसम्बन्धी फाइल ल्याउन छापा मारेको जानकारी दिनुभयो ।
प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।
‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकलको कम्पनी नै नखुलेको र मूल्य पनि फरक राखिएको पाइएको अख्तियारले बताएको छ ।
अभियान सञ्चालन गरिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई चरणमा गरी २७ हजार २ सय ६२ थान साइकल खरिद गरेको थियो । दुवै चरणमा एकैखाले साइकल किनिए पनि मूल्य भने फरक छ । कार्यालयका अनुसार पहिलो पटक प्रतिसाइकल ६ हजार ४ सय ३२ रुपैयाँ मूल्य परेको थियो । दोस्रो पटकमा ८ हजार ४ सय ४६ रुपैयाँ भुक्तानी भएको छ, जुन अघिल्लो पटकको भन्दा प्रतिसाइकल २ हजार १४ रुपैयाँ बढी हो ।