काठमाडौं । विदेशी महिलासँग सामाजिक सञ्जालमार्फत चिनजान गरी प्रेम सम्बन्धमा रहेका बेला खिचिएका व्यक्तिगत तस्बिर उनका आफन्त तथा परिवारजनलाई पठाएर चरित्र हत्या गरेको आरोपमा बाँकेक एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ बस्ने २३ वर्षीय प्रशान्त जयसवाल रहेका छन्।
पीडित विदेशी महिलासँग सामाजिक सञ्जालमार्फत चिनजान भएपछि जयसवाल साथी बनेका थिए। पछि उनीहरूबीच प्रेम सम्बन्धसमेत रहेको अवस्थामा खिचिएका तस्बिरहरू जयसवालले पीडित महिलाका आफन्त तथा परिवारजनका सामाजिक सञ्जालका खातामा पठाएको ब्यूरले जनाएको छ।
व्यक्तिगत तस्बिरहरू पठाएर महिलाको चरित्रमा आँच पुर्याउने तथा मानसिक हैरानी दिने कार्य गरेको सम्बन्धमा साइबर ब्यूरोले प्राविधिक विश्लेषणसहित अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा घटनामा जयसवालको संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा भदौ ३० गते उनलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ।
पक्राउ परेका जयसवालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ भने उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको ब्यूरोले जनाएको छ।
साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत व्यक्तिगत तस्बिर तथा सामग्रीको दुरुपयोग गरी कसैको चरित्र हत्या, हैरानी वा बदनाम गर्ने कार्य नगर्न आग्रह गरेको छ। साथै यस्ता घटनामा पीडितले सम्बन्धित निकायमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सक्ने जनाएको छ।