काठमाडौं । बाढीबाट उद्धार गरिएका व्यक्तिको आईसीयूमा उपचार भइरहेको अवस्थामा अन्तर्वार्ता लिएर सामग्री प्रसारण गरिएको विषयमा प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ।
रसुवामा आएको बाढीमा परी माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिहरूको अस्पतालको आईसीयूमा उपचार भइरहेको अवस्थामा अन्तर्वार्ता लिई 'इन्साईड द बकर’ नामक युट्युब च्यानलबाट सामग्री प्रसारण गरिएको काउन्सिलले जनाएको छ।
यस्तै, सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा उद्धार गरिएका एक पथप्रदर्शकको अस्पतालको आईसीयूमा उपचारकै क्रममा अन्तर्वार्ता लिएर बीबीसी नेपालीले प्रसारण गरेको सामग्री पनि काउन्सिलको जानकारीमा आएको जनाएको छ।
काउन्सिलले दुवै घटनासँग सम्बन्धित सामग्रीबारे पत्रकार आचारसंहिताको परिधिभित्र रहेर अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ। घटनाको थप अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा मेडिकल काउन्सिलमा पत्राचारसमेत गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलले अध्ययन तथा अनुगमनपछि आवश्यक विषयमा थप प्रक्रिया अघि बढाउने संकेत गरेको छ।
प्रेस विज्ञप्ति-
रसुवामा आएको बाढीमा माथिल्लो त्रिशुली ३ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरी एक अस्पतालको आइसियूमा उपचाररत व्यक्तिहरूसँग अन्तरर्वार्ता लिइ Inside the Bunker नामक युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ ।
यसअघि पनि सगरमाथामा सम्पर्कविहीन भएको सातौं दिनमा फेला परेका एक पथप्रदर्शकको एक अस्पतालमा उपचाररत रहेको अवस्थामा आइसियूबाट अन्तर्वार्ता लिइ बिबिसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषय पनि काउन्सिलको जानकारीमा आएको छ ।
काउन्सिलले सम्प्रेषित सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन, अनुगमन गरिहेको र यस विषयमा अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पत्राचार भएको बेहोरा यसै विज्ञप्तिमार्फत सम्बद्ध सबैमा जानकारी गराउँदछौं ।