काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणामअनुसार उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित भएका छन्।
उपसभापतिमा भण्डारी र आचार्य विजयी
उपसभापतिको खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा डा. भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गर्दै विजयी भए। आचार्यले २ हजार ३४२ मत प्राप्त गरी दोस्रो स्थानसहित जित हासिल गरे।
अन्य प्रतिस्पर्धीमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतिमा विनोद चौधरी विजयी
समावेशीतर्फ उपसभापतिको एक पदमा विनोदकुमार चौधरी विजयी भएका छन्। उनले १ हजार ७४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए।
त्यस्तै, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।
महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल सर्वाधिक मतसहित विजयी भएका छन्। उनले ४ हजार १९४ मत प्राप्त गरे। अर्का विजयी उम्मेदवार उदय शमशेर राणाले २ हजार ३३० मत प्राप्त गरेका छन्।
महामन्त्रीका प्रतिस्पर्धी डा. सुनीलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, अमरसिंह पुन मगरले १ हजार १२५, नैनसिंह महरले १ हजार १३४, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।
खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा पौडेल र राणा निर्वाचित भएका हुन्। पौडेलले राणाभन्दा १ हजार ८६४ मत बढी प्राप्त गरेका छन्।
महिला महामन्त्रीमा डा. डिला संग्रौला विजयी
महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन्। उनले ३ हजार ११८ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरिन्। त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेकी छन्।