काठमाडौं । पछिल्लो समय सुरक्षाकर्मीविरुद्ध अनावश्यक रूपमा बदनाम गर्ने उद्देश्यले समाचार लेख्ने र लेखाउने प्रवृत्ति बढ्दै गएको देखिएको छ । आफ्नो स्वार्थ पूरा नभएपछि केही गिरोहले पत्रकारितालाई दुरुपयोग गर्दै षड्यन्त्रपूर्वक सुरक्षाफौजका तल्लो तहदेखि वरिष्ठ अधिकृतसम्मलाई लक्षित गरी समाचार प्रकाशन गराउने प्रवृत्ति गरेको पाइएको छ ।
यस्ता घटना नयाँ होइनन् । सुरक्षाकर्मीबाट गल्ती नहुने भन्ने हुँदैन । गल्ती भए त्यसलाई तथ्य र प्रमाणका आधारमा सार्वजनिक गर्नु जिम्मेवार पत्रकारिताको धर्म हो । तर भए नभएका विषयलाई अतिरञ्जित गर्दै, हावा र हचुवाका भरमा समाचार लेखेर सुरक्षाकर्मीको छवि ध्वस्त पार्ने प्रयास चिन्ताजनक बन्दै गएको छ ।
विशेष गरी तराईका जिल्लामा सुरक्षाकर्मीले अनावश्यक कुरा नमान्दा प्रतिशोधका रूपमा समाचार लेखाउने क्रम बढेको देखिन्छ । गल्ती भए एकपटक निष्पक्ष रूपमा समाचार लेखिनु स्वाभाविक हो । तर अहिले एउटै विषयलाई ‘भाग–१’, ‘भाग–२’ गर्दै पटक–पटक लेखेर जनमत भड्काउने र अन्ततः सम्बन्धित सुरक्षाकर्मीलाई कारबाहीको भागीदार बनाउने प्रवृत्ति मौलाउँदै गएको छ, जुन निश्चय नै गलत हो।
राज्यले दिएको जिम्मेवारी कर्तव्यनिष्ठ रूपमा पूरा गर्दै आएका सुरक्षाकर्मीका सामान्य कमजोरीलाई अतिरञ्जित गरेर प्रस्तुत गर्नुले उनीहरूको मनोबल खस्काउने मात्र होइन, समग्र सुरक्षा संयन्त्रप्रति नै अविश्वास सिर्जना गर्ने खतरा बढाउँछ । स्वार्थ पूरा नभएपछि बदनाम गराउने उद्देश्यले समाचार प्रयोग गर्नु कत्तिको उचित हो भन्ने प्रश्न अहिले विभिन्न तह र तप्काबाट उठ्न थालेको छ ।
इमानदारीपूर्वक राष्ट्रसेवामा समर्पित सुरक्षाकर्मीको बदनाम गर्नु ठूलो अन्याय भएको जानकारहरूको भनाइ छ । गलत समाचारका कारण मानसिक, सामाजिक र व्यावसायिक रूपमा पीडित भएका कयौं सुरक्षाकर्मीका उदाहरणहरू छन् ।
यसको अर्थ गलत गर्ने सुरक्षाकर्मीलाई जोगाउनुपर्छ भन्ने होइन । गल्ती गर्ने जो–कोही भए पनि उसको गलत कार्यलाई तथ्यसहित सार्वजनिक गर्नु अत्यावश्यक छ । तर प्रमाणविहीन, पूर्वाग्रही र स्वार्थप्रेरित समाचारले इमानदार राष्ट्रसेवकलाई निशाना बनाउनु न त पत्रकारिताको मूल्य हो, न त लोकतन्त्रको हितमा।
अतः सुरक्षाकर्मीविरुद्ध समाचार लेख्दा सत्य, सन्तुलन र जिम्मेवारीलाई केन्द्रमा राख्नु आजको आवश्यकता हो । आफ्नो स्वार्थका लागि इमानदार सुरक्षाकर्मीको बदनाम गराउने प्रवृत्तिमाथि गम्भीर बहस र आत्मसमीक्षा जरुरी देखिन्छ ।