तस्बिर : जनताको लागि आएको अत्याधुनिक सोलार लाइट भागवण्डा लगाएर जनप्रतिनिधिले आफ्नो घरमा राखेको
हरि गुरुङ, सन्दिप नाथ योगी, बर्दिया । जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ३ लाई विभिन्न संघसंस्थाले मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न र स्थानीय जनतालाई जंगली जनावरको आक्रमणबाट बचाउन विभिन्न खाले अत्याधुनिक हेलोजिन लाइट, सोलारबाट संचालित हुने सेन्सर युक्त अत्यन्तै प्रष्ट प्रकाश दिने(रातमा उक्त लाइट बाल्दा दिउँसो जत्तिको लामो दुरिसम्म उज्यालो दिने) महंगा लाइटमा गणतन्त्रको नाममा भ्रष्टाचार (लूटतन्त्र)भएको छ । आफ्नो शक्तिको दुरुपयोग गर्दै वन्यजन्तुबाट पीडित वस्तीहरूमा राख्नुपर्ने उक्त बत्तीहरू आफ्ना वडा सदस्यहरूको चाकरी गर्न मधुवन वडा नम्बर ३ले जथाभावी बाँडेको छ ।
विश्वस्त स्रोतका अनुसार वडा नम्बर ३ कार्यालयले जनताको वस्तीमा राख्नुपर्ने, जंगली जनावर आउँदा प्रष्ट देखिने र जनता सुरक्षीत हुने भनेर जिल्ला वन कार्यालय लगायतका संघसंस्थाले दिएको लाइट वडा सदस्यहरूको घरमा प्रकाश पर्ने गरि राखेको छ ।
यस्ता किसिमका सामान्य लाग्ने तर गम्भीर किसिमका भ्रष्ट आचार र राजनीतिक चाकरीका कारण वडा नम्बर ३ मा विकाश त हुन सकेकै छैन, त्यो भन्दा पनि यस्तै कुकृत्यजन्य राजनितिक भागबन्डाका कारण सबै भन्दा धेरै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वडा नम्बर ३ का वासिन्दाहरूआफैले तिरेको करबाट पाउनुपर्ने सेवा सुबिधाहरूबाट बञ्चित छन् ।
कति सम्म भने गाउँगाउँमा सिंहदरबार आयो भनेर खुशी भएका विपन्न वर्गका गाउँले जनतालाई अप्रत्यक्ष रूपमा शोषन गरिएको छ । वास्तविक वन्यजन्तु पीडित जो बोल्न सक्दैनन् जो आवाज विहिन छन् तिनका लागी आएका महंगा सरसामान वडा नंबर ३ का कथित ठुलाठालु भनौंदाहरूले भागबण्डा लगाएर बाँड्ने गर्दछन । यस्ता कुसंस्कार र घृणित कार्यमा संलग्न जनप्रतिनिधिहरूले वडा नम्बर ३ मा बाघ र हात्तीबाट मृत्युवरण गरेकाहरूको जिम्मेवारी लिनुपर्छ ।
नेपालको संविधान, राजपत्रमा प्रकाशित नियमावली अनुसार र संघिय संरचना अनुसार विपतमा समेत एकद्वार प्रणाली लागू गरिएको छ ।जस्तै विपत परेपनी वडा कार्यालय नगर कार्यालयको समन्वयमा जनतालाई राहत बाँडफाँड गर्ने भनिएको छ । तर त्यसको ठ्याक्कै उल्टो वडा नम्बर ३ ले जहाँ मानव वन्यजन्तुको द्वन्द छ त्यहाँ काम नगरेर आफ्ना वडा सदस्यको एरिया (क्षेत्र)कहाँ छ त्यहीँ मात्र काम गर्ने प्रवृति देखिएको छ । यस्को जिम्मेवारी कसले लिने ?
वडा नम्बर ३ मा वडा अध्यक्षको रूपमा नारायण मल्ल कार्यरत छन् । यस अघि पनि उनै मल्ल वडा अध्यक्ष थिए । पहिले नेपाली कांग्रेसबाट वडा अध्यक्ष लडेका उनले दोस्रो पटक कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र लडेका थिए । जेब्रा घोँडा चिन्ह लिएर लडेका उनले वडा अध्यक्ष पद प्राय कांग्रेसकै भोट पाएर जिते । यहाँका जनताले अब त हाम्रो गाउँ आफै बनाउँ भन्ने नाराका साथ विकाश हुने भयो भन्ने सोँचेको बेला भागबन्डा प्रवृति बढेको छ ।
वन कार्यालय र संघसंस्थाले जनता बाघ भालु तथा हात्तीबाट मर्नु नपरोस भनेर दिइएका सामाग्री आ-आफ्ना घरमा धमाधम लगाउँदा भोलिका दिनमा वडा नम्बर ३ मा एक जनाको मृत्यु पनि जंगली जनावरबाट भएमा मधुवन नगरपालिकाका नगरप्रमुख र वडा नम्बर ३ का वडा अध्यक्षले लिनुपर्छ ।
त्यत्रा ठुला ठुला योजना कार्यान्वयन गर्दा देशकै चौथो अंगलाई बोलाउनुपर्नेमा त्यहाँका स्थानीय पत्रकारलाई जानकारी नदिएर सुटुक्क बजेट खर्च गर्ने प्रवृतिले मधुवन नगरपालिका ग्रसित भएको छ । अब उप्रान्त उक्त क्षेत्रमा कसैको पनि मृत्यु जंगली जनावरबाट भएमा त्यसको जिम्मा मधुवन नगरपालिका र उक्त नगरपालिकाको वडा नम्बर ३ ले लिनु पर्छ हैन भने पीडित जनताको लागि आएको बजेट, अत्याधुनिक सामाग्री जसका कारण जंगली जनावरबाट बच्न सकिन्छ त्यसको भागवण्डा लगाएर सुटुक्क आफ्ना घरमा लगाउन छोड्नुपर्छ । यस प्रकरणमा केही कर्मचारीको पनि मिलोमतो रहेको हाम्रा स्रोतको दाबी भएपनि स्वतन्त्र पुष्टि हुन सकेको छैन । अनुसन्धान जारी छ ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो लिनुपर्छ । प्राय थारू समुदाय बस्ने क्षेत्रको एक रत्ती विकास नहुनुमा कसको जिम्मेवारी छ त्यसको लेखाजोखा जनता र पत्रकारले राखेकै छन् । ईमान्दार जनप्रतिनिधिलाई माया सम्मान र धन्यवाद । बेइमानलाई अख्तियारको आशिर्वाद र सनातनी पाप । मधुवन नगरपालीका वडा नम्बर ३ मा भएका अन्य बेथिति, कुसंस्कार, भागवण्डा प्रवृतिका अरु विषय पनि स्रोतले हामीलाई अवगत गराएको छ । ती विषयमा पनि अनुसन्धान जारी छ भने अख्तियार सम्पर्क कार्यालय नेपालगन्ज, केन्द्रिय कार्यालय टंगालका अधिकारीहरूसँग छलफल जारी छ ।