बाँके। बाँके निर्माण व्यवसायी संघले निर्माण सामग्रीको मूल्यवृद्धि र सरकारी दररेट समयानुकूल समायोजन नभएको भन्दै आज पनि विरोध कार्यक्रम स्वरुप धर्नामा बसेको छ। संघले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाएको ध्यानाकर्षण मार्फत पनि हालको अवस्थाले निर्माण क्षेत्र नै संकटमा परेको जनाउदै विरोध यथावत नै राख्दै आज सडक पुर्वाधार विकास कार्यालयमा धर्नामा बसेको हो।
संघका अनुसार इन्धन, डिजेल, बिटुमिन, फलामजन्य सामग्रीलगायतका निर्माण सामग्रीको मूल्य अत्यधिक बढ्दा ठेक्का अनुसार काम गर्न कठिन भएको छ। तर, सरकारी दररेट पुरानै भएकाले व्यवसायीहरू आर्थिक रूपमा मारमा परिरहेका छन्। यसका कारण धेरै आयोजना प्रभावित भएको र काम गर्ने वातावरण कमजोर बन्दै गएको संघको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी र पुर्वाधार विकास कार्यालयलाई लेखिएको विज्ञप्तिमा निर्माण व्यवसायीहरूले विगतदेखि नै मूल्य समायोजनको माग गर्दै आएको भए पनि सम्बन्धित निकायबाट प्रभावकारी निर्णय नआएको उल्लेख छ। लागतअनुसार भुक्तानी नहुँदा व्यवसायीहरू घाटामा गएको र केहीले काम नै छाड्ने अवस्थामा पुगेको संघले जनाएको छ।
यस्तै, निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धि, बैंक ब्याजदर, मजदुरी खर्च र अन्य सञ्चालन खर्च बढ्दो क्रममा रहेकाले तत्काल दररेट परिमार्जन आवश्यक रहेको संघको जोड छ। संघले समयमै उचित निर्णय नगरे विकास निर्माणका अधिकांश काम ठप्प हुने चेतावनी दिएको छ। साथै, निर्माण व्यवसायीलाई राहत दिने नीति ल्याउन र वर्तमान समस्याको शीघ्र समाधान गर्न सरकारसँग माग गरिएको छ।
संघका अध्यक्ष लिलाराज उपाध्यायले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा निर्माण क्षेत्र जोगाउन सरकार गम्भीर बन्नुपर्ने उल्लेख गरिएको छ।