नेपालगन्ज ५ वैशाख : पछिल्लो समय बाँकेमा कोरोना संक्रमण दर ह्वात्तै बढेपछि बालबालिका र युवा सबैभन्दा बढि प्रभावित भएकाछन् ।
जिल्लाका दर्जनबढि विद्यालय तथा कलेजका शिक्षक र विद्यार्थी संक्रमित भइरहेका छन् । भने यहाँका निजी विद्यालयहरु गैरजिम्मेवार हुदैँ शिक्षाका नाममा कोरोना निम्त्याइरहेकाछन् ।
बाँकेका दर्जन बढि अभिभावकले आईतबार बिहान सेतोखरीमा फोन गरि निजी विद्यालयले सादा पोशाकमा कोचिङ्ग, ट्युसनका नाममा विद्यार्थी पढ्न बोलाएको भन्दै गुनासो समेत गरेकाछन् ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेले आईतबारदेखि जिल्लाका सबै शैक्षिक संस्था बन्द गराएपनि बालबालिकाको स्वास्थ्यमाथि खेलवाड गर्दै यहाँका निजी विद्यालयले निर्वाधरुपमा पढाइरहँदा कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रणका लागि गठित अनुगमन टोली अनजान बनेकोछ ।
यसबिच जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको तथ्यांकलाई हेर्दा ९ वर्षदेखि १९ वर्षका ६२ जना बालबालिका कोरोनाको सिकार भइसकेकाछन् ।
पछिल्लो एक महिनामा जिल्लामा ६ सय १७ जना संक्रमित भएकामध्ये बालबालिकाको संख्यामात्रै ६२ रहेको छ ।
गएको चैत एक गतेदेखि वैशाख चार गतेसम्मको तथ्यांकलाई हेर्दा बाँकेका ३० बालिका र ३२ बालकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्शन तेज ओलीले जानकारी दिए ।
उनका अनुसार ९ वर्षसम्मका ३ बालिका र ७ बालक रहेका छन् । भने १० बर्षदेखि १९ वर्षसम्मका २७ बालिका र २५ बालक रहेको फोकलपर्सन ओली जानकारी दिए ।
केन्द्रको तथ्यांकलाई मध्यनजर गर्दा बालबालिकामा कोरोनाको संक्रमण बढ्दो छ । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) प्रकाश थापाले कोरोना भाइरस न्यूनिकरणका लागि सावधानी अपनाउदै कडाईका साथ लकडाउन नगरिए केही दिनमा बाँकेको अवस्था भयाबह हुने बताइसकेकाछन् ।
उनका अनुसार यसैगरि दिनहुँ कोरोनाका संक्रमित भेटिदै गए केही दिनमै बाँकेमा संक्रमित राख्ने ठाउँ नहुने र संक्रमितलाई उपचार लगायतका सेवा दिन नसकिने भन्दै चिन्ता र चासो समेत ब्यक्त गरेकाछन् ।
यता जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेले यही बिहीबार बैठक बस्दै कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्णरुपमा पालना गर्ने गराउने निर्णय गरेकोछ । उक्त केन्द्रको बैठकले माक्स विना हिँडडुल नगर्न आग्रह गर्दै माक्स नलगाई हिँडेको पाइएमा कारबाही गर्ने, माक्स विना ब्यापार ब्यवसाय सञ्चालन गरेको पाएमा एक हप्ताका लागि बन्द गर्ने लगायतको निर्णय गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।