काठमाडौँ । खर्च विवरण नबुझाएका स्थानीय तहका उम्मेदवारलाई कारबाही सिफारिस गर्न निर्वाचन आयोगले मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । काठमाडौं महानगरपालिकाको सबैभन्दा ढिलो जेठ १२ गते मतपरिणाम घोषणा भएको थियो ।
यस अनुसार असार १२ भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाई सक्नुपर्ने हुन्छ ।
स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले आफ्नो खर्च विवरण बुझाउनु पर्ने हुन्छ ।
निर्वाचन आयोगले सबैभन्दा बढी महानगरको प्रमुख र उपप्रमुखमा ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो ।
आयोगले निर्वाचन कार्यालयलाई निर्देशन दिँदै भनेको छ,‘हालसम्म सम्बन्धित उम्मेदवारले कानुनबमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए/नबुझाएको एकिन गरी निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टै तयार गरी आवश्यक कारबाहीको लागि सिफारिससहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।’
प्रकाशित मिति: बुधबार, असार ८, २०७९, १८:१०:००