काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलन, निजी फलफूल नर्सरी सुदृढीकरण र राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहहरूलाई पत्राचार गरी आवश्यक सहयोग तथा सहजीकरणका लागि आग्रह गरेको छ।
निर्वाचन आयोगको गत साउन १५ गतेको निर्णयअनुसार आगामी भदौ १५ गतेसम्म वडास्तरमा नै मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन हुँदैछ। सो कार्यका लागि स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण भिडाई अद्यावधिक गर्न प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई आवश्यक सहयोग गर्न मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई निर्देशन दिएको छ।
त्यसैगरी, चालू आर्थिक वर्षका लागि कृषि वन तथा पर्यावरण मन्त्रालय मातहतको राष्ट्रिय फलफूल विकास आयोजनाद्वारा सञ्चालन हुने निजी फलफूल नर्सरी सुदृढीकरण कार्यक्रममा पनि स्थानीय तहलाई सहजीकरण गर्न भनिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा फलफूल नर्सरीको क्षमता विस्तार तथा गुणस्तर सुधार गर्न इच्छुक नर्सरीधनीहरूले ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ बमोजिम ५० प्रतिशतसम्म अनुदान पाउन सक्नेछन्। यसका लागि कीर्तिपुरस्थित केन्द्रीय आयोजना व्यवस्थापन इकाइमा एक महिनाभित्र आवेदन दिनुपर्नेछ।
यसबाहेक, मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन पनि स्थानीय तहलाई अनुरोध गरेको छ। खोप छुट भएका बालबालिकाको पहिचान गरी खोपको पहुँच बढाउन, तराई तथा भित्री मधेशका जिल्लाहरूमा नियमित खोपसँगै समुदायस्तरमा थप खोप केन्द्रहरू सञ्चालन गर्न र पायक पर्ने स्थानमा केन्द्रहरूको उचित प्रबन्ध मिलाउन स्थानीय तहलाई आग्रह गरिएको छ।