काठमाडौं । नेपाल प्रहरीले पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा देखिएका धार्मिक तथा सामाजिक तनावका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सबै नागरिकलाई संयमता अपनाउँदै आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई मजबुत बनाउन सहयोग गर्न पनि प्रहरीले अपिल गरेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सन्देश जारी गर्दै नेपालको पहिचान विविधताबीचको एकतामा आधारित रहेको उल्लेख गरेका छन्। उनले यही विशेषतालाई जोगाइराख्नु प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको बताएका छन्।
आईजीपी कार्कीका अनुसार विशेषगरी पूर्वी तराईका केही क्षेत्रमा धार्मिक सद्भावमा असर पर्ने तथा सर्वसाधारणमा त्रास फैलाउने प्रकृतिका गतिविधि देखिएका छन्। यस्ता कार्यले समाजमा शान्ति र विश्वास कमजोर बनाउने भएकाले कसैको हितमा नहुने उनको भनाइ छ।
उनले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह र उत्तेजक अभिव्यक्ति फैलाउने प्रवृत्तिले सामाजिक विभाजन बढाउने चेतावनी दिएका छन्। कानुनविपरीत हुने यस्ता गतिविधिबाट टाढा रहँदै जिम्मेवार व्यवहार प्रदर्शन गर्न उनले सबैलाई आग्रह गरेका छन्।
भिडियो सन्देशमा कार्कीले धर्म, संस्कृति र परम्परा फरक भए पनि सबै नेपालीको साझा पहिचान र राष्ट्र एउटै भएको उल्लेख गर्दै संवेदनशील परिस्थितिमा धैर्यता, विवेक र पारस्परिक सम्मानलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। अर्काको धर्म, आस्था र संस्कृतिको सम्मान गर्नु नै सामाजिक सद्भाव कायम राख्ने आधार भएको उनको भनाइ छ।
नेपाल प्रहरीले सबै नागरिकलाई एकअर्काको आस्था, संस्कृति र अधिकारको सम्मान गर्दै सामाजिक शान्ति, भाइचारा र राष्ट्रिय एकता सुदृढ बनाउन सक्रिय सहयोग गर्न पुनः अनुरोध गरेको छ।