काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन हतारमा नभई स्पष्ट प्राथमिकता निर्धारण गरेर चरणबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
बिहीबार पार्टी कार्यालयमा आयोजित संविधान संशोधनसम्बन्धी बहस कार्यक्रममा बोल्दै थापाले सरकारले संविधान संशोधनको विषयमा अपनाएको प्रक्रिया उपयुक्त नभएको टिप्पणी गरे। उनले संविधान संशोधनका लागि सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा समिति गठन गर्न वा संसद्भित्रै विशेष समिति बनाएर प्रक्रिया अघि बढाउन सकिने धारणा राखे।
थापाका अनुसार पहिलो चरणमा संवैधानिक आयोगहरूको पुनरावलोकन गर्न सकिने र त्यसपछि सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई समेटेर संशोधन अघि बढाउनुपर्छ। सबै विषय एकैपटक संशोधनका लागि खोल्दा अनावश्यक विवाद र जटिलता निम्तिन सक्ने उनको भनाइ थियो।
‘प्राथमिकता निर्धारण नगरी संविधान संशोधनका सबै विषय खुला गरियो भने अराजकता सिर्जना हुन सक्छ,’ उनले भने। सरकारले संविधान निर्माणका क्रममा भएका सहमतिलाई पनि स्मरण गर्नुपर्ने उनको सुझाव थियो।
सरकारलाई संविधान संशोधनमा आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको उल्लेख गर्दै थापाले त्यसका लागि उत्तेजना वा पूर्वाग्रहभन्दा सहमति र विवेकलाई आधार बनाउनुपर्ने बताए।
संविधान संशोधनबारे कांग्रेसको धारणा विगतदेखि नै स्पष्ट रहेको उल्लेख गर्दै उनले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, संसदीय शासन प्रणाली, बहुजातीयता र बहुधार्मिकताजस्ता संविधानका आधारभूत मूल्यमा कुनै सम्झौता नहुने स्पष्ट पारे।
थापाले संविधानको मूल मर्मलाई अक्षुण्ण राख्दै सुशासन, सेवा प्रवाह र राज्य सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आवश्यक संशोधनमा कांग्रेस अग्रसर रहने बताए।