काठमाडौं । देशका विभिन्न जिल्लामा अत्यधिक गर्मी बढ्ने सम्भावना देखिएको भन्दै बाँकेसहितका प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले तातो दिन र तातो लहर (हीटवेभ) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आगामी केही दिन जोखिम उच्च रहने चेतावनी दिएको हो।
विभागका अनुसार विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्नेछ भने केही ठाउँमा ४० डिग्री सेल्सियस नाघ्न सक्ने अनुमान गरिएको छ। यसले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले आवश्यक तयारी र सतर्कता जरुरी देखिएको छ।
मौसमविद् सञ्जिव अधिकारी का अनुसार आगामी तीन दिनसम्म यी क्षेत्रहरूमा मध्यमदेखि उच्च स्तरको तातो लहरको प्रभाव रहने सम्भावना छ। विशेषगरी तराई क्षेत्रमा यसको प्रभाव बढी देखिने र पहाडी क्षेत्रमा ‘तातो दिन’ को अवस्था कायम रहने उनले बताए।
विभागले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लालाई बढी प्रभावित क्षेत्रका रूपमा उल्लेख गरेको छ। त्यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि सावधानी अपनाउन सुझाव दिइएको छ।
तातो लहरका कारण थकान, टाउको दुख्ने, अत्यधिक तिर्खा लाग्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ।
जोखिम न्यूनीकरणका लागि दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, चर्को घाममा बाहिर ननिस्किन, हल्का र सुती कपडा लगाउन तथा बाहिर जाँदा टाउको छोप्न सुझाव दिइएको छ। त्यस्तै प्रशस्त पानी, जुस, सर्वत जस्ता तरल पदार्थ सेवन गर्न र स्वास्थ्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीको सल्लाह लिन आग्रह गरिएको छ। विभागले नियमित रूपमा मौसम पूर्वानुमान हेरेर अद्यावधिक जानकारी लिन पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।