नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यास र मुलुकका लागि ‘प्राणवायु’ का रूपमा उल्लेख गर्दै स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सबै पक्षलाई आह्वान गरेको छ ।
महासंघका अध्यक्ष नवीन गिरीद्वारा जारी अपीलमा संवैधानिक जटिलतालाई सरलीकृत गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संस्थागत विकासका लागि निर्वाचन अपरिहार्य रहेको उल्लेख गरिएको छ । निर्वाचन निष्पक्षताको कसीमा जति प्रखर हुन्छ, त्यति नै बालिग मताधिकारको सही प्रतिबिम्ब देखिने जनाउँदै महासंघले पत्रकार तथा आमसञ्चार माध्यमको भूमिका ‘वाच डग’का रूपमा अझ जिम्मेवार र प्रभावकारी हुनुपर्ने बताएको छ ।
मतदान प्रक्रियामा अधिकतम नागरिक सहभागिताले निर्वाचनलाई ओजिलो र निर्णायक बनाउने उल्लेख गर्दै महासंघले आममतदातालाई आफ्नो गोप्य मताधिकार प्रयोग गर्न अभिप्रेरित गर्न सञ्चारमाध्यमले निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ‘उत्सव’का रूपमा लिन र आफ्ना प्रतिनिधि आफैं चयन गर्ने संवैधानिक अधिकारको सदुपयोग गर्न सबै मतदातासँग अपील गरिएको छ ।
महासंघले फागुन १८ गते राति १२ बजेदेखि लागू हुने मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सम्पूर्ण सञ्चारकर्मी र सञ्चारगृहहरूलाई आग्रह गरेको छ । मौन अवधिमा कुनै पनि उम्मेदवार, दल वा पक्ष–विपक्षलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
सत्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्दै व्यावसायिक मर्यादा र पत्रकारिताको आचारसंहिता पालना गर्न आग्रह गर्दै महासंघले निर्वाचन अवधिमा खटिने पत्रकारहरूको निर्वाध रिपोर्टिङ, आवतजावत तथा भौतिक सुरक्षाको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र वा महासंघको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति पत्र लिएका पत्रकारलाई सहज आवतजावतको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।
संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गर्दै जिम्मेवार पत्रकारितामार्फत निर्वाचन प्रक्रियालाई सफल बनाउन महासंघले पुनः प्रतिबद्धता जनाएको छ ।
यसैबीच, महासंघले फागुन १८ गते हिमाली तथा पहाडी जिल्ला र फागुन १९ गते तराईका जिल्लामा मनाइँदै गरेकि होली पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेको छ ।