डुडुवा । नेपाली कांग्रेसको तर्फबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालासँग डुडुवा गाउँपालिका क्षेत्रका सर्बसाधारण नागरिकले विभिन्न आशा र अपेक्षा राखेका छन् ।
बाँके क्षेत्र नम्बर २ अन्तरगत डुडुवा गाउँपालिका वडा नम्बर २ को बेतहनी, पिप्रहवा र पूर्व बाढी गाउँमा आज मतदाता भेटघाट गर्न पुगेका उम्मेदवार कोइरालासँग सर्बसाधारण नागरिकले बर्खायाममा हुने डुबान, कटान समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । यस्तै उनीहरुले किसानका लागि आवश्यक पर्ने सिंचाइै, मल, बीउ समयमै उपलब्ध गराउनका लागि पहल गरिदिन अनुरोध पनि गरेका छन् ।
मतदाता भेटघाटका क्रममा उक्त गाउँका स्थानीय बासिन्दाले उम्मेदवार कोइरालालाई घर–घरमा स्वागत गर्दै जितको अग्रिम शुभकामना दिएका थिए । मतदाता भेटघाटका क्रममा उम्मेदवार कोइरालाले स्थानीय बासिन्दाले उठाएका मागलाई आफू निर्वाचित भएपछि सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।
‘मलाई अहिले निर्वाचित गराएर पठाउनुस्, म निर्वाचित भएर गएपछि तपाईंले उठाएका मागहरु सम्बोधन गर्नका लागि आवश्यक पहल गर्नेछु,’ उनले भने, ‘म अहिले जस्तो छु, भोलि सांसद भएपछि पनि यस्तै तपाईंहरुसँगै सर–सल्लाह गरेर अगाडि बढ्नेछु ।
मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।