बाँके । बाँके क्षेत्र नं. १ मा करिब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो क्षेत्रबाट काँग्रेसले पार्टी सभापति नारायण प्रसाद गौडेललाई चुनावी मैदानमा उतारेको छ । ३० वटा वडा रहेको यो क्षेत्रमा काँग्रेसले सबै वडामा प्रचारप्रसार कार्यालय स्थापना गरिसकेको छ । घरदैलोदेखि टोलस्तरीय अन्तरक्रियासम्म सक्रिय रुपमा जुटिरहेको काँग्रेसभित्रको एकता र जनताको बढ्दो उत्साहबारे क्षेत्रीय सभापति पोषण केसी भन्छन्–‘यसपटक जनताको चाहना स्पष्ट छ, स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान गर्ने ।’ प्रस्तुत छ, क्षेत्रीय सभापति केसीसँग नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालसँग गरिएको कुराकानीका मुख्य अंश।
बाँके क्षेत्र नं. १ मा काँग्रेसको चुनावी अभियान कस्तो चल्दै छ ?
बाँके क्षेत्र नं. १ मा नेपाली काँग्रेसको चुनावी अभियान अत्यन्त उत्साहजनक र प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । यो निर्वाचन क्षेत्रमा तीन वटा पालिका छन् । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका । ८१ व्टा वडा छन् । ती सबै वडामा प्रचारप्रसार कार्यालय स्थापना भइसकेका छन् । घरदैलो कार्यक्रम, टोलस्तरीय भेटघाट, युवा तथा महिला भेला, किसान अन्तरक्रिया लगायत कार्यक्रमहरु निरन्तर भइरहेका छन् । आम नागरिकमा लोकतान्त्रिक शक्तिप्रति विश्वास पुनः बढेको अनुभूति गरेका छौं । पार्टीका नेता–कार्यकर्ता एकजुट भएर लागेका छन्, जसले सकारात्मक सन्देश दिएको छ।
तपाई नै टिकटको प्रतिस्पर्धी हुनुहुन्थ्यो नि ?
हो, म पनि टिकटको आकांक्षी थिए । पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक र स्वस्थ प्रक्रिया हो । तर नेपाली काँग्रेस विधि र प्रक्रियाबाट चल्ने लोकतान्त्रिक पार्टी हो । पार्टीले जसलाई उम्मेदवार बनायो, त्यो निर्णय सबैका लागि मान्य हुन्छ । व्यक्तिगत आकांक्षा भन्दा पार्टी र लोकतन्त्र ठूलो हो भन्ने हाम्रो मान्यता हो । उम्मेदवार भन्दा पनि पार्टी महत्वपूर्ण कुरा हो । अहिलेको विषम परिस्थितिमा नेपाली काँग्रेसलाई जिताउन सकिएन भने मुलुक ठूलो संकटमा पर्ने अवस्था आउन सक्ने खतरा छ । व्यवस्थानै रहदैन की भन्ने आंशका छ । त्यसैले पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प छैन । हाम्रो लक्ष्य व्यक्तिगत पद होइन, काँग्रेसको विजय र जनताको सेवा हो । नारायण गौडेल जी लामो समय जनताको काममा सक्रिय भएको व्यक्ति हो । यो भुगोलमा उहाँ जनताको लोकप्रिय नेता भएकाले पनि काँग्रेस कार्यकर्ताहरु थप उत्साहित भएका छन् ।
करिब १० वर्षपछि यहाँका जनताले रुखमा भोट हाल्न पाउने भएका छन्, जनता के भन्छन् ?
साँच्चै भन्नुपर्दा करिब एक दशकपछि जनताले फेरि रुख चिन्हमा मतदान गर्न पाउने अवसर पाएका छन् । जनतामा यसलाई लिएर निकै उत्साह छ । यसअघि गठबन्धनका नाममा अन्य चुनाव चिन्हमा मतदान गर्न बाध्य भएको अवस्था थियो । अहिले धेरैले भन्नुहुन्छ–‘अब फेरि काँग्रेसलाई अवसर दिनुपर्छ ।’ यस अघि निर्वाचित प्रतिनिधिहरुले के कस्ता बाचा गरेका थिए ? त्यसलाई पूरा गरेकी गरेनन् ? आम नागरिकले गहिरोसंग अनुभव गरेका छन् । जनता सन्तुष्ट छैनन् । जनताले लोकतन्त्रको रक्षा र समृद्धिको आधार काँग्रेस नै हो भन्ने विश्वास व्यक्त गरिरहेका छन् । विकास निर्माणदेखि अफ्ठयारो पर्दा काँग्रेस नै चाहिन्छ भन्ने मनोभावना जनतामा देखिन्छ ।
जनताको माग के छ ?
जनताको मुख्य माग रोजगारी, कृषि विकास, सिँचाइ, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको सुधार हो । युवा विदेशिनु पर्ने बाध्यता अन्त्य गर्नुपर्छ भन्ने आवाज बलियो छ । किसानहरु मल–बीउको सहज उपलब्धता र उत्पादनको उचित मूल्य चाहन्छन् । त्यस्तै, दलित, महिला, थारु समुदाय, भूमिहीन तथा सुकुम्बासीका सवालहरु पनि उठिरहेका छन् । सामाजिक न्याय, समान अवसर र पारदर्शी शासन जनताको प्रमुख चाहना हो । हामीले यी सबै मागलाई हाम्रो प्राथमिक एजेन्डामा राखेका छौं ।
काँग्रेसलाई किन जिताउने ?
नेपाली काँग्रेस लोकतन्त्रको रक्षक शक्ति हो । संविधान निर्माणदेखि लोकतन्त्र स्थापनासम्म काँग्रेसले ऐतिहासिक भूमिका खेलेको छ । काँग्रेसले सधैं समावेशिता, विधिको शासन, मानव अधिकार र विकासको मार्ग अपनाएको छ । अहिले देशलाई स्थायित्व, जिम्मेवार नेतृत्व र अनुभव आवश्यक छ, जुन काँग्रेससँग छ । यदि बाँके क्षेत्र नं. १ लाई दिगो विकास, सुशासन र समृद्धिको बाटोमा लैजानु छ भने रुख चिन्हमा मतदान गरेर काँग्रेसलाई जिताउनु अपरिहार्य छ भन्ने हाम्रो विश्वास छ ।
तपाईं आफैं बाँके–१ अन्तर्गत कुसुम क्षेत्रका बासिन्दा हुनुहुन्छ। बाँके राष्ट्रिय निकुञ्ज आसपासका बस्तीका नागरिकहरू जंगली जनावरको आक्रमणबाट पीडित भइरहेका छन्। यस अवस्थालाई तपाईंले कसरी लिनुहुन्छ? साथै, नेपाली कांग्रेसले यसको दीर्घकालीन समाधान दिन सक्छ त?
म यस्तो किसिमका दुःखद घटनाका कारण अत्यन्त दुःखी छु। बाँके राष्ट्रिय निकुञ्जका कारण आसपासका स्थानीय बस्ती असुरक्षित बन्दै गएको अवस्थामा महिनौँपिच्छे बाघ तथा चितुवाको आक्रमणबाट निर्दोष नागरिकले ज्यान गुमाउनु परिरहेको छ। ती घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु। “वन्यजन्तु संरक्षणका नाममा मानव जीवन असुरक्षित हुनु कदापि स्वीकार्य छैन। आम नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्छ।”
हाल प्रचलनमा रहेको वन्यजन्तु संरक्षण ऐन, २०२९ समयसापेक्ष छैन। त्यसलाई संशोधन गरी जनमुखी र सुरक्षामैत्री बनाउनु अहिलेको अपरिहार्य आवश्यकता हो। संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न कानुनी तथा संरचनागत सुधार जरुरी भइसकेको छ।
खेतबारीमा काम गर्ने किसान, दाउरा–घाँस संकलन गर्न जाने महिला, विद्यालय जाने बालबालिकासमेत वन्यजन्तु आक्रमणको उच्च जोखिममा छन्। कतिपय घटनामा बाघ बस्तीमै पसेर आक्रमण गरेको उदाहरणले हालको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।
हाम्रा कांग्रेस उम्मेदवार नारायण प्रसाद गौडेलले पनि निकुञ्ज व्यवस्थापन, सुरक्षा निकाय र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको स्पष्ट रूपमा बताइसक्नु भएको छ। उहाँ निर्वाचित भएपछि यस समस्यालाई पहिलो प्राथमिकतामा राखेर जोखिमयुक्त क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउने, क्षतिपूर्ति प्रक्रिया सरल र छरितो बनाउने तथा दीर्घकालीन समाधानका लागि आवश्यक कानुनी संशोधन अघि बढाउने प्रतिबद्धता जनाउनु भएको छ। नेपाली कांग्रेस मानव जीवनको सुरक्षालाई केन्द्रमा राखेर संरक्षण नीतिलाई व्यवहारिक र जनमैत्री बनाउने दिशामा दृढतापूर्वक अघि बढ्नेछ।