बर्दिया । बर्दिया जिल्लाको क्षेत्र नम्बर २ मा बर्दिया राष्ट्रिय निकुञ्ज नजिकैका बस्तीमा मानव र जंगली जनावरबीचको द्वन्द्व गम्भीर सुरक्षा चुनौती बनेको छ। राजापुर, मधुवन, ठाकुरबाबा र बारबर्दियाका बासिन्दाहरू हात्ती, बाघ लगायतका जंगली जनावरको आक्रमणबाट लगातार जोखिममा रहेको छन्। जंगली जनावरको आक्रमणमा सयौं बढीको ज्यान गएको छ भने कयौं घाइते र अपाङ्ग भएका छन् ।
स्थानीयहरूका अनुसार, खेतीपाती गर्ने किसान, दाउरा–घाँस संकलन गर्ने महिला र रातको समयमा आवतजावत गर्ने सर्वसाधारण उच्च जोखिममा छन्। “हाम्रो जीवन , घर ,खेतबारी नै खतरा झेलिरहेको छ, तर प्रभावकारी सुरक्षा प्रणाली छैन। कतिबेला आक्रमणमा परिने हो केही थाहा छैन," एक स्थानीय मतदाताले बताए।
अहिले निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू मत माग्न गाउँ–गाउँ पुगेका छन्। तर बासिन्दाहरूको मुख्य माग भनेको मतका लागि कुरा मात्र नभई, जंगली जनावरबाट हुने आक्रमण रोक्न र जनताको सुरक्षा सुनिश्चित गर्न सक्षम सांसद नियुक्त गर्नु हो।
स्थानीय बासिन्दाहरूले सरकारी निकाय र निकुञ्ज प्रशासनसँग समन्वय अभाव भएको गुनासो गर्दै जोखिमपूर्ण क्षेत्रमा पर्खाल, तारबार, सोलार फेन्सिङ र चेतावनी प्रणाली तत्काल लागू गर्न माग गरेका छन्। साथै, आपतकालीन उद्धार, घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया पनि छिटो र सरल बनाउनुपर्नेमा उम्मेदवारहरुसँग जोडदार माग गरेका छन्।
मधुवन , ठाकुरबाबा लगायत जंगल नजिकका जनताले मानव सुरक्षा र बन्यजन्तु संरक्षणबीच सन्तुलन कायम गर्दै दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन्। उनीहरु भन्छन्, “संरक्षणको नाममा हामी असुरक्षित हुन नपरोस्। हाम्रो जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्छ।”
निर्वाचन अघि बर्दिया–२ का अधिकांश मतदाताहरूले उम्मेदवारसँग आफ्नो मुख्य आशा यसैमा जोडिरहेका छन्—सांसद बनेपछि मानव–जनावर द्वन्द्वको दीर्घकालीन समाधान ल्याउने प्रतिवद्धता।