निरक बिक/ बर्दिया । प्रतिनिधि सभा निर्वाचन–२०८२ को सन्दर्भमा नेपाल दलित संघले कांग्रेस उम्मेदवारहरूलाई शुभकामना व्यक्त गर्दै बर्दियाको ठाकुरद्वारामा पालिकास्तरीय भेला सम्पन्न गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–६ नम्बरमा आयोजित कार्यक्रममा बर्दिया निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठौरलाई जिताउने विषयमा छलफल केन्द्रित रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेता तथा लुम्बिनी प्रदेश सरकारका मन्त्री जन्मजय तिमिल्सिनाले संविधानले सुनिश्चित गरेको समानता, समावेशिता र सामाजिक न्यायको कार्यान्वयनका लागि कांग्रेसको जित अपरिहार्य रहेको बताए । उनले दलित समुदायको हक–अधिकार संरक्षण र विकासका लागि कांग्रेस निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे ।
विशेष अतिथि नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवार मिनराज चौधरीले दलित समुदायको निर्णायक भूमिका रहेको उल्लेख गर्दै बर्दिया–२ मा कांग्रेस उम्मेदवार राठौर र समानुपातिकतर्फ रुखलाई जिताउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्न आग्रह गरे ।
नेपाल दलित संघ ठाकुरबाबाका सचिव चित्र सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय जनताले आफ्ना विविध मागहरू प्रस्तुत गरेका थिए ।
उनीहरूले बन्यजन्तु र मानवबीचको बढ्दो द्वन्द अन्त्य गर्न, विकास निर्माण तीव्र पार्न, पुल तथा बाटोघाटो निर्माण, तटबन्धको व्यवस्था, युवाका लागि रोजगारीको सृजना लगायतका विषय उठाएका थिए ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिका–६ मा कुल मतदातामध्ये करिब २१ प्रतिशत दलित समुदायका मतदाता रहेको जानकारी गराउँदै सो समुदायको मत निर्णायक हुने वक्ताहरूले बताएका थिए ।
त्यस अवसरमा बर्दिया–२ मा उम्मेदवार राठौरलाई विजयी गराउन दलित समुदायका कांग्रेस नेता तथा कार्यकर्ता अडिग र एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रमले स्थानीयस्तरमा कांग्रेसको संगठन सुदृढ गर्दै दलित समुदायको राजनीतिक सहभागिता थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा ठाकुरबाबा नगर कार्यपालिका सदस्य पुजा सुनार लगायतको उपस्थिति रहेको थियो।