बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ (बाँके–१) बाट नेपाली कांग्रेसले उम्मेदवार बनाएका नारायण प्रसाद गौडेल बलियो उम्मेदवारका रूपमा अघि देखिएका छन्। नेपाली कांग्रेस बाँके जिल्ला सभापति समेत रहेका गौडेल पार्टीको आन्तरिक संगठनमा लामो अनुभव बोकेका तथा ग्रासरुट तहमा निरन्तर सक्रिय नेता हुन्। संगठन निर्माण, नेतृत्व क्षमता र पार्टीप्रति समर्पणका कारण उनी पार्टीभित्र मात्र नभई आम मतदातामाझ समेत लोकप्रिय रहेको कांग्रेस नेताहरू बताउँछन्।
पार्टीको विभिन्न समिति तहदेखि क्षेत्रीय सभापति, महासमिति सदस्य हुँदै हाल जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्दै आएका गौडेलले संगठनात्मक सुदृढीकरण र कार्यकर्ता विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन्। तरुण दलदेखि जिल्ला सभापतिसम्म आइपुग्दा उनले सम्हालेका विभिन्न पद र जिम्मेवारीले उनको राजनीतिक अनुभव र नेतृत्व क्षमतालाई थप मजबुत बनाएको विश्लेषण गरिन्छ।
गौडेलले नेपाली कांग्रेसको संगठनलाई अझ मजबुत बनाउने, पार्टीको सिद्धान्त र आदर्शलाई व्यवहारमा उतार्ने तथा स्थानीय आवश्यकता अनुसार विकासका काम अघि बढाउने प्रतिबद्धता जनाउँदै आएका छन्।
यसै क्रममा गौडेलले बाँके राष्ट्रिय निकुञ्जका कारण यस क्षेत्रका नागरिकले भोग्दै आएको बन्यजन्तु आक्रमणको समस्यालाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। महिनौँपिच्छे बन्यजन्तुको आक्रमणमा परी कयौँ नागरिकले ज्यान गुमाउनुपरेको भन्दै उनले जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। यसका लागि बन्यजन्तु संरक्षण ऐन, २०२९ लाई संशोधन गरी जनमुखी बनाउने आफ्नो मुख्य उद्देश्य रहेको गौडेलको भनाइ छ।
साथै स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार, पूर्वाधार विस्तार र किसान तथा मजदुर वर्गको हितलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढ्ने योजना रहेको उनले बताएका छन्। साथै नरैनापुर क्षेत्रको उत्तम विकासको एजेन्डा गौडेलले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
समर्थकहरूका अनुसार गौडेल सरल जीवनशैली अपनाउने, इमान्दार र मेहनती नेताका रूपमा परिचित छन्। जनआन्दोलन तथा पार्टी संघर्षका क्रममा उनले पुर्याएको योगदान र पार्टी कार्यकर्तासँगको निकट सम्बन्धले चुनावी मैदानमा उनको पक्षलाई थप बलियो बनाएको छ।
स्थानीय स्तरमा देखिने साना–ठूला समस्या समाधानका लागि स्वयं खटिने उनको कार्यशैलीले पनि आम मतदातामाझ विश्वास बढाएको स्थानीयवासी बताउँछन्। सामान्य सिफारिसदेखि जटिल प्रशासनिक झन्झटसम्म जनताका कामका लागि व्यक्तिगत रूपमा सक्रिय रहने उनको बानीले उनलाई भरोसायोग्य नेता बनाएको छ।
स्थानीयवासीहरू भन्छन्, “सभापति गौडेल क्षेत्रीय सभापति भएका बेला माओवादीको सशस्त्र द्वन्द्वको संकटकालमै पनि ज्यानको प्रवाह नगरी साइकलमै बाँके–१ का जनताको दुःख–सुखमा साथ दिनुहुन्थ्यो। त्यस्तो कठिन समयमा जनताको साथ दिने नेता उहाँजत्तिको भरोसायोग्य अरु कोही छैन।”
वि.सं. २०५६ सालपछि यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा संयुक्त वाम गठबन्धनका उम्मेदवारहरूले लगातार जित्दै आएको इतिहास छ। तर यसपटक कांग्रेसले संगठन र स्थानीय नेतृत्वमा बलियो आधार भएका उम्मेदवार अघि सारेकाले प्रतिस्पर्धा फरक र रोचक हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
त्यस क्षेत्रमा कांग्रेसका उम्मेदवार गौडेलसहित नेकपा एमालेबाट सुर्य ढकाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नरेन्द्र पाण्डे (जेम्स) र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बाट सुरेश थारु मुख्य प्रतिस्पर्धी हुन् ।