काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिले सुरक्षा व्यवस्था थप कडा बनाउने निर्णय गरेको छ। गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न समितिको नियमित बैठकले निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न रणनीतिक निर्णयहरू गरेको हो।
बैठकमा गृह र रक्षा सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा हाल कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार सम्बन्धित निकायहरूले गरिरहेका तयारी, जनशक्ति परिचालन र बन्दोबस्ती व्यवस्थाको समीक्षा गरिएको थियो।
सुरक्षा निकायहरूले निर्वाचन अवधिमा देखिन सक्ने सम्भावित चुनौतीहरूको मूल्याङ्कन गर्दै आपसी समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकले निर्वाचनसम्बन्धी कार्यक्रमहरूलाई शान्त, व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्न गठन गरिएका सबै समन्वय संयन्त्रहरूलाई पूर्ण रूपमा सक्रिय बनाउने निर्णय पनि गरेको छ।
राजनीतिक दल र उम्मेदवारहरूको प्रचार–प्रसारलाई भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला सुरक्षा समितिहरूलाई आवश्यक निर्देशन दिइने भएको छ। उम्मेदवारी दर्तापछि बढ्दै गएको राजनीतिक गतिविधिलाई ध्यानमा राख्दै देशभर सुरक्षा उपस्थिति र गस्ती बढाइने रणनीति तय गरिएको छ।
यस निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा परेको छ। प्रचार–प्रसारका क्रममा फैलिन सक्ने भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति तथा गैरकानुनी गतिविधिमाथि कडा निगरानी गरिने निर्णय बैठकले गरेको छ। सामाजिक सञ्जालमार्फत कानून उल्लङ्घन गर्ने जो कोहीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
सरकारले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा निकायहरूलाई उच्च सतर्कता (हाइ अलर्ट) मा रहन निर्देशन दिएको छ।