काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा आज जनकपुरमा एकदिवसीय मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८२ सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय तथा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्नु वर्तमान सरकारको मुख्य उद्देश्य रहेको बताउनुभयो । उनले गोष्ठीले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा थप प्रभावकारी बनाउन तथा विद्यमान समस्या र चुनौती समाधानमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका हुन् । जस्तोसुकै आपराधिक गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै नागरिकसँगको समन्वय र सहकार्यमा अपराध तथा हिंसा नियन्त्रण गरी जनतामा सुदृढ सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो । साथै, आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न गराउन सरकार दृढ रहेको पनि उनको भनाइ थियो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र कायम मुकायम प्रमुख सचिव कमलप्रसाद भट्टराईले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रभावकारी सुरक्षा व्यवस्थापन नै सुशासन, समृद्धि र विकासको आधार भएको उल्लेख गर्नुभयो । उनले खुला सिमाना, लागुऔषध ओसारपसार, सडक दुर्घटना लगायतका चुनौती नियन्त्रणका लागि सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्दै प्रभावकारी प्रहरी परिचालन आवश्यक रहेको बताए । गोष्ठीबाट प्राप्त मार्गदर्शनको अधिकतम सदुपयोग गर्दै प्रदेशको सुरक्षा व्यवस्था सुदृढ बनाउने र निर्वाचन सुरक्षा प्रभावकारी बनाउन कार्कीले निर्देशन दिएका छन् ।
गोष्ठीमा नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले पनि आ–आफ्नो धारणा राखेका थिए । गृह मन्त्रालय शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्लेले प्रदेशको सुरक्षा अवस्था र चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको कार्यक्रममा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यबारे जानकारी दिएका थिए।
मधेश प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, समस्या, चुनौती र समाधानका उपाय तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए भने गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुख पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।