नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेको निर्माण सम्पन्न तीन तले ‘सुशील कोराला स्मृति भवन’ को पार्टीका सह-महामन्त्री किशोर सिंह राठौरले आज एक समारोहका बीच उद्घाटन गरेका छन् । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र महामन्त्री गगन कुमार थापाले संयुक्तरुपमा भवन उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम प्रतिकूल मौसमका कारण हुन नसकेपछि नेपालगञ्जमै रहेका सह(महामन्त्री राठौरले भवनको उद्घाटन गरेका हुन् ।
आज नेपाली काँग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसर पारेर भवनको उद्घाटन गरिएको हो । नेपाली कांग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री एवम् संविधान पिता सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरी उनकै नाममा भवनको नामाकरण गरिएको छ । भवनको एउटा कोठालाई ‘सुशील कोइराला शयन कक्ष’ नाम दिइएको छ । स्वर्गीय कोइरालाले नेपालगञ्जमा पार्टीको भवन निर्माण भयो भने त्यहीँ बसेर काम गर्ने इच्छा जाहेर गरेकाले उनको भावनाको उच्च सम्मान गर्दै कोइरालाकै नाममा शयन कक्ष निर्माण गरिएको छ ।
भवन निर्माण समितिका संयोजक एवम् पार्टी जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारीका अनुसार भवन निर्माणका लागि हालसम्म रु। १ करोड २० लाख ८३ हजार बढी रकम खर्च भएको छ भने भवन निर्माणका लागि विभिन्न क्षेत्र तथा व्यक्तिहरुवाट अहिलेसम्म नगद तथा भौतिक तथा जिन्सी सामग्री गरी रु। १ करोड २५ लाख ७० हजार बढी रकम सहयोग प्राप्त भएको छ । जेष्ठ नागरिक तथा अपाङ्गमैत्री उक्त भवनमा लिप्टको समेत व्यवस्था गरिएको संयोजक अधिकारीले जानकारी दिए ।
भवन उद्घाटन समारोहका प्रमुख अतिथि सह-महामन्त्री राठौरले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरु पार्टीप्रति मर्यादित, अनुशासित तथा एक ढिक्का भएमा कसैले पनि कांग्रेसलाई पराजित गर्न नसक्ने दावी गरे । उनले भने-‘याद राख्नुस् कार्यकर्ता फुटे भने पार्टी कमजोर हुन्छ र पार्टी कमजोर भयो भने नेपालबाट लोकतन्त्र समाप्त हुन्छ, तसर्थ कार्यकर्ताहरु फुटेर हैन जुटेर लोकतन्त्रको रक्षाका लागि लड्न तयार रहनुपर्छ।’ कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा नै गरे। बाँके जिल्लासँग लामो समयदेखि आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै उनले नेपालगञ्जबाट उपसभापति पदमा लड्ने घोषणा गरेका बताए । उनले भने-'कुन समूहबाट लड्छु त्यो समयले तय गर्छ ।’
अध्यक्षताको आसनबाट बोल्दै नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले आफ्नो कार्यकालमा गरिएको बाचा र प्रतिबद्धता बमोजिम भवन निर्माण गरिएको स्मरण गराए । उनले छिट्टै भवनको प्रागंणमा सुशील कोइरालाको अर्धकदको शालिक निर्माण गरिने समेत बताए । त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम, गोपाल दहित र मान बहादुर नेपाली लगायतले बोलेका थिए । नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा उपसभापति एवम् भवन निर्माण समितिका संयोजक गौतमले निर्माण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने संस्था तथा व्यक्तिहरु तथा लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण एवम् जनपक्षीय पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याउने पाँच जना पत्रकार कमल खत्री, बैकुण्ठ अधिकारी, निशा शाह, रविन्द्र घिमिरे र अभिशेष गुप्तालाई प्रमाणपत्रसहित सम्मान गरिएको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।