काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सवारीसाधन प्रयोगमा निकै कडा र मर्यादित व्यवस्थासहितको आचारसंहिता प्रस्ताव गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार निर्वाचन आयोग वा निर्वाचन अधिकृतको पूर्व अनुमति नलिई कुनै पनि उम्मेदवारले सवारीसाधन प्रयोग गर्न पाउने छैनन्।
अनुमति प्राप्त बाहेकका अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्ने वा प्रचार सामग्री प्रदर्शन गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ। यदि कसैले नियम उल्लंघन गरी सवारीसाधन प्रयोग गरेमा सुरक्षाकर्मीले त्यस्ता सवारीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाउनेछन् र त्यसको जानकारी जिल्ला आचारसंहिता अनुगमन समितिलाई दिनुपर्ने व्यवस्था गरिएको छ।
उम्मेदवारहरूले निर्वाचन अधिकृतको अनुमति लिएर सम्बन्धित निर्वाचन क्षेत्रमा बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक सवारीसाधन मात्र प्रयोग गर्न पाउनेछन्। सवारीसाधन चल्न नसक्ने भौगोलिक क्षेत्रको हकमा भने उम्मेदवारले चारवटा घोडा प्रयोग गर्न सक्ने विकल्प दिइएको छ।
विदेशी नम्बर प्लेटका सवारीसाधनलाई निर्वाचन प्रयोजनका लागि कुनै पनि हालतमा अनुमति नदिइने र प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ। राजनीतिक दलहरूले पनि तोकिएको प्रक्रिया पूरा गरी निश्चित संख्या र प्रकारका सवारीसाधन मात्र प्रयोग गर्नुपर्नेछ भने सवारीको वास्तविक स्वरूप परिवर्तन गरी प्रचारप्रसारमा प्रयोग गर्न पाइने छैन।
आचारसंहिताले अनुमति प्राप्त सवारीसाधनको दुरुपयोग रोक्न समेत कडा व्यवस्था गरेको छ। एक उम्मेदवारले लिएको अनुमतिमा अर्को दल वा उम्मेदवारले सवारी चलाउन पाउने छैनन् भने मतदाता ओसारपसारका लागि यस्ता सवारी प्रयोग गर्न पाइने छैन। यद्यपि, मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै हिँड्डुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, सानो बच्चा बोकेका महिला, किरियापुत्री, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका हकमा भने निर्वाचन अधिकृतको विशेष अनुमतिमा सवारी प्रयोग गर्न दिइनेछ।
हेलिकप्टर प्रयोगको हकमा भने राजनीतिक दलले आफ्नो तर्फबाट तोकेका मुख्य प्रचारकहरूको नाम आयोगमा बुझाउनुपर्नेछ र आयोगले अनुमति दिएका व्यक्तिले मात्र हेलिकप्टर प्रयोग गर्न पाउनेछन्।