काठमाडौँ । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्दै अझ प्रभावकारी, समावेशी र परिणाममुखी बनाउन नयाँ सङ्कल्प आवश्यक रहेको बताएकी छन्।
सार्कको ४१औँ चार्टर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भए मात्र क्षेत्रीय चुनौतीहरूको सामना गर्न, सामूहिक हितको रक्षा गर्न र जनताको आकाङ्क्षा पूरा गर्न सकिने उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीका अनुसार झन्डै चार दशकअघि संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिमा आधारित एकीकृत दक्षिण एसियाको परिकल्पना गरेका थिए। त्यही दूरदृष्टिले आजको सार्कको जन्म भएको उनको भनाइ छ।
उनले विगत वर्षहरूमा सार्कले सदस्य राष्ट्रबीच आपसी समझदारी र विश्वास बढाउँदै क्षेत्रीय विकास, जीवनस्तर सुधार तथा समृद्धिमुखी पहललाई अघि बढाउने महत्वपूर्ण मञ्चको रूपमा भूमिका खेलेको स्मरण गरिन्। खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता चुनौतीहरू सामूहिक रूपमा सामना गर्न सार्क चार्टरले निरन्तर मार्गदर्शन गर्दै आएको प्रधानमन्त्रीले उल्लेख गरिन्।
सार्कका अध्यक्षका रूपमा नेपालले चार्टरमा उल्लिखित सिद्धान्तअनुसार सबै सदस्य राष्ट्रहरूसँग मित्रता, एकता र सहमतिको आधारमा काम गर्न प्रतिबद्ध रहेको कार्कीले स्पष्ट पारिन्। उनका अनुसार संयुक्त प्रयासले साझा विकास लक्ष्यमा प्रगति छिटो हुने र दक्षिण एसियामा बसोबास गर्ने करोडौँ जनताले प्रत्यक्ष लाभ पाउनेछन्।
सार्क स्थापना ८ डिसेम्बर १९८५ मा बङ्गलादेशको ढाकामा चार्टर हस्ताक्षरसँगै भएको हो। अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्र रहेको सार्कको सचिवालय १७ जनवरी १९८७ मा काठमाडौँमा स्थापना गरिएको थियो।
सार्क अन्तर्गत सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूको बैठक सबैभन्दा उच्च निर्णय–निर्माण तह हो, जुन सामान्यतया दुई वर्षको अन्तरालमा बस्ने प्रचलन छ। हालसम्म १८ शिखर सम्मेलन सम्पन्न भए पनि २०१४ नोभेम्बरमा काठमाडौँमा सम्पन्न १८औँ शिखर सम्मेलनपछि नयाँ बैठक हुन सकेको छैन।