काठमाडौँ । नेपाली कांग्रेसको लगातार सारिँदै आएको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय बीपीनगर, सानेपामा बस्ने तालिका छ। तर विगत केही दिनजस्तै आज पनि बैठक वास्तविक रूपमा बस्छ कि बस्दैन भन्ने बारे अहिलेसम्म कुनै स्पष्टता छैन।
कार्तिक २८ गतेमै निर्णयमा पुग्नुपर्ने विषय नेतृत्वको कमजोर व्यवस्थापनका कारण लामो समयदेखि अल्झिएको भन्दै पार्टीभित्र आलोचना बढ्दै गएको छ। बैठक किन बारम्बार स्थगित भइरहेको छ भन्ने स्पष्ट कारणसमेत संस्थापन पक्षले दिएको छैन। विशेषतः बदलिँदो राजनीतिक परिस्थिती र आसन्न महाधिवेशनको मिति टुंग्याउने एजेन्डा भएकाले बैठकलाई जानी–जानी ढिलो पारिएको आरोप गैर–संस्थापन समूहले लगाउँदै आएको छ।
कार्तिक २७ गते महामन्त्री जोडी र उपसभापतिको सम्बोधनपछि २८ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निष्कर्ष निकालेर बैठक टुंग्याउनुपर्ने धारणा थियो। तर विभिन्न बहानामा बैठक एक साता भन्दा बढी लम्बिएको छ। सामाजिक सञ्जालमार्फत उनले ‘ढिलै भए पनि सहि निर्णय आउने’ आश्वासन दिए पनि व्यवहारमा बैठक बारम्बार स्थगित भइरहनुले उनको भूमिकाप्रति प्रश्न उठेकै छ।
यतिबेला कार्यवाहक सभापति खड्का संस्थापन पक्षकै आन्तरिक छलफलमा व्यस्त भएको आरोप छ। पार्टीभित्र भने महाधिवेशन ढिलो गर्दा संगठनमा झनै दुराव बढ्ने चेतावनी बौद्धिक वर्गले दिइरहेका छन्। प्रतिनिधि सभा विघटन र आगामी फागुन २१ गते चुनाव घोषणा भइसकेको अवस्थामा कांग्रेसले अब ढिलो नगरी महाधिवेशनको तयारीलाई प्राथमिकता दिनुपर्ने सुझाव तीव्र बन्दैछ।
पूर्वनिर्धारित रूपमा सभापति शेरबहादुर देउवाले असोज २८ मै खड्कालाई छिटो महाधिवेशन गर्न जिम्मेवारी दिएका थिए। त्यसपछि असोज २९ मा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाइसकेका छन्, जसअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने प्रावधान छ। संस्थापन पक्ष पनि त्यसबाट उम्कन नसक्ने अवस्थाबाट परिचित छ। तर पार्टीभित्र आरोप — संस्थापन नेतृत्व आगामी चुनावमा टिकट वितरणपछि मात्रै महाधिवेशन गर्न इच्छुक छ।
यसैबीच, संस्थापनकै २५ केन्द्रीय सदस्यले पनि चुनावअघि नै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन्। तर बैठक किन रोकिने क्रम जारी छ भन्नेबारे कार्यवाहक सभापतिले कुनै आधिकारिक स्पष्टीकरण दिएका छैनन्। महामन्त्रीद्वयले भने महाधिवेशनको कार्यतालिका र धारणा सार्वजनिक गरिसकेकाले चाँडै निर्णय गर्नुपर्ने दबाब झनै बढेको छ।
कांग्रेस सत्ताबाट बाहिरिएको र प्रतिपक्षमा पनि कडा भूमिकामा नरहेको वर्तमान परिस्थितिमा संगठन पुनर्संरचना र नयाँ नेतृत्वसहित चुनावमा जाने अनुकूल समय भएको विश्लेषकहरूको भनाइ छ। जेन–जी पुस्ताको राजनीति प्रती बदलिँदो दृष्टिकोणका बीच कांग्रेसले आफूलाई अद्यावधिक गर्न महाधिवेशन नै पहिलो कदम ठहरिएको छ।
निर्णयमा ढिलाइ भइरहेको भन्दै कार्यवाहक सभापतिको नेतृत्वमा पनि प्रश्न उठ्न थालेका छन्। पार्टीको अस्तित्व र विश्वसनीयता जोगाउन अब तत्काल, स्पष्ट र प्रभावकारी कदम चाल्नुपर्ने दबाब दिनदिनै बढ्दै गएको छ।