जनकपुर । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पाँच सांसद गरेको कारबाहीलाई उपसभामुख बबिता राउत ईश्वरले बदर गरेकी छिन् ।
लगातार १० वटा प्रदेश सभा बैठकमा अनुपस्थित भएको भन्दै बिहीवार सभामुख मण्डलले प्रतिशोधको भावनाले ५ सांसदलाई गरिएको पदमुक्तलाई उपसभामुख बबिताले बदर गरेकी हुन् ।
सभामुख मण्डलले जसपाका ४ र जनमत पार्टीका एक जनालाई पदमुक्त गरेका थिए।
उपसभामुख बबिताले पदमुक्त गरिएका ५ सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको बताएकी छिन् । उपसभामुख बबिताले सभामुख मण्डलले गरेको कारबाहीलाई बदर गरेको सूचना जारी गरेकी छिन् ।
सभामुख मण्डलले सांसदहरु मनिष कुमार सुमन(सप्तरी), उर्मिला देवी सिंह(सर्लाही), संजय कुमार यादव, (सर्लाही),३(२), सिंहासन सा कलवार (सर्लाही) ४(२), सारदा संकर प्रसाद कलवार,(बारा) २(१) लाई पदमुक्त गरेका थिए।
उपसभामुखद्वारा जारी सूचना -
विषयः पद रिक्तको सूचना/निर्णय बदर सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस मधेश प्रदेश सभा सचिवालयको मिति २०८२/०७/२७ गतेको पाँच जना माननीय प्रदेश सभा सदस्यहरुको पदरिक्त सम्बन्धी सूचना सभामुखले आफुमाथि २०८२/०७/२७ गते प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८० को उपनियम २(क) बमोजिम सभामुखको विरुद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव उपसभामुख समक्ष पेश गरिनुपर्ने व्यवस्था भएबमोजिम प्रस्ताव पेश भइसकेको र सो को उपनियम (३) बमोजिम छलफलको लागि मिति समय तय हुन बाँकि रहेको अवस्थामा प्रस्तावको प्रतिशोध स्वरुप आवेगमा गरेको निर्णय हो । मधेश प्रदेश सभाको पछिल्लोपटक मिति २०८२/०७/२२ गतेको विश्वासको मत सम्बन्धि प्रस्तावको बैठकमा उक्त सूचनामा उल्लेख भएका सम्पूर्ण माननीय ज्यूहरु उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट देखिएकोले सो पद रिक्त सम्बन्धी सूचना बदर गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालामा जानकारी गराईन्छ ।
मा. बबिता कुमारी राउत