काठमाडौं। जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले 'विशेष अपरेशन' सञ्चालन गर्ने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।
गृहमन्त्री अर्यालले यस कार्यमा नागरिक स्तरबाट पनि सहयोग आवश्यक रहेकोमा जोड दिए। आज गृहमन्त्री अर्यालले एक कार्यक्रममा बोल्दै सुशासन दिन नसकिएमा द्वन्द्व दोहोरिन सक्ने र त्यसले सुरक्षा संकट निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
गृहमन्त्री अर्यालले दिएको जानकारी अनुसार, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये ७ सय १० वटा फिर्ता भइसकेका छन्, तर केही हतियार अझै फिर्ता हुन बाँकी छन्।
त्यसैगरी, आन्दोलनका क्रममा कुल १४ हजार ५ सय ४९ जना कैदीबन्दी फरार भएकोमा ९ हजार ५ सय २१ जना (६५ प्रतिशत) फिर्ता आइसकेका छन्। तर, अझै ५ हजार १ सय ५ जना अर्थात् करिब ३५ प्रतिशत कैदीबन्दी बाहिरै रहेका छन्।
फरार रहेका कैदी र हतियार फिर्ता गर्न सरकारले पटक-पटक सूचना जारी गरे पनि अझै पनि ठूलो संख्यामा मानिस बाहिरै रहेकाले अब विशेष अपरेशन चलाइने गृहमन्त्री अर्यालले बताए।
उनले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको र सरकार तथा निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले अर्थतन्त्रको जगेर्नामा निजी क्षेत्रको दायित्व रहेको बताए। साथै, सरकार थप रचनात्मक भएर अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।