फाइल तस्बिर
काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणले राज्यका सबै अंगको विश्वसनीयता समाप्त पारेको बताउनुभएको छ ।
उहाँले तीन दलका नेताहरुले खुसुरखुसुर छलफल गर्दा नै शंका उत्पन्न भएको भन्दै अब त राज्यका अनुसन्धान निकायदेखि उच्च तहसम्मको विश्वसनीयता नै समाप्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तीन दलका नेताले खुसुरखुसुर गर्दा हामीलाई शंका लागिरहेको थियो । आज त राज्यका निकायहरु, अनुसन्धान निकायहरुमै प्रश्न उठिरहेको छ । यो कुनै अँध्यारो कोठामा वा गल्लीमा भएको कुरा पनि होइन । खुलेयाम बालुवाटार र सिंहदरबारमा पैसा बुझेको कुरा आइरहेको छ ।'
उहाँले यसरी किटानी बयान दिँदा समेत नाम मुछिएकाहरुलाई पक्राउ नगर्नुले राज्यमाथिको विश्वसनीयतामा प्रश्न उठेको बताउनुभयो ।
‘ज–जसको नाम आएको छ, उनीहरुको छानबिन समेत गर्न नसक्ने गरी किन डराएको ? प्रधानमन्त्री, गृहमन्त्री मुटु दरो छ भन्नुहुन्छ, खोइ आँट देखाएको ? । हाम्रो हकमा, नागरिकको हकमा आउँछु भन्दा भन्दै समातिएको छ । न्युजरुमबाट समातिएको व्यक्ति म यहाँ छु,’ उहाँले भन्नुभयो ।
उहाँले आफूले नाम आएकहरु दोषी हुन् भनेर आरोप लगाएको नभई छानबिन गर्न माग गरेको बताउनुभयो ।
‘एकपटक छानबिनका लागि, सोधपुछका लागि बोलाउन पनि नसक्ने को हो उहाँहरु ?,’ लामिछानेले प्रश्न गर्नुभयो ।