राप्रपाले बर्दियामा भदौ २० गते बृहत् आमसभा गर्ने, लिङदेन, रावल र नेतृ रेखा थापा आउँदै
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीले बर्दियामा यही भदौ २० गते बृहत् आमसभाको आयोजना गरेको छ ।
युवा नेता विनय रावल कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरे सँगै अहिले बर्दियामा राप्रपाका नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन ।
विकास प्रेमी तथा समाजसेवी युवा नेताको परिचय बनाउनुभएका रावलले लामो समयदेखि बेटर एण्ड ब्राइटर बर्दियाको अवधारणालाई अभियानको रूपमा अगाडि बढाइरहनुभएको छ ।
बर्दिया र बर्दियालीको सर्वाङ्गीण विकासका लागि कृषि, पर्यटनलाई बढावा दिँदै जैविक विविधताको संरक्षण गर्दै युवालाई स्वरोजगार गराउनुपर्छ भन्ने महत्वाकाङ्क्षी तर स्वावलम्बी वृहत योजना रावलले अगाडि सार्नुभएको छ ।
दुरदर्शी र प्रभावशाली नेताको पहिचान बनाउनुभएका रावलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया–२ बाट चुनाव लड्ने घोषणा गर्नुभएको छ ।
रावलले भदौ २० गते हुने बर्दियाको आमसभामा अध्यक्ष राजेन्द्र लिङदेन, प्रवक्ता ज्ञानेन्द्र शाही, पूर्व गभर्नर डा. तिलक रावल, नेतृ रेखा थापालगायतको उपस्थिति हुने बताउनुभयो ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेशको कार्यक्रम समेत राखिएको उहाँले बताउनुभयो ।
रावलले उक्त आमसभामा सहभागिताको लागि बर्दियाका आम जनसमुदायमा अपिलसमेत गर्नुभएको छ ।