काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुगेको छ।
नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४४९ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो।
फेला परेका शवमध्ये रसुवामा २३६, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव रहेको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको छ। पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डीएनए नमुना संकलन भइसकेको छ।
पहिचान हुन नसकेका १ हजार ३६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। बाढीपछि बेपत्ता भएका ४ हजार ६५५ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यस्तै, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार ३७२ जनालाई राखिएको प्रहरीले जनाएको छ।