काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ११ बजेसम्म १ हजार १० जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा ३८, नुवाकोटमा १०३, धादिङमा ५६, चितवनमा ३२०, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६९ र भारतमा ५ वटा रहेका छन्।
फेला परेका शवमध्ये ९७२ वटाको लाशजाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ५६ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ।
पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि हालसम्म ६२८ वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। व्यवस्थापन गरिएका शवमा १२१ महिला, १९८ पुरुष र ३०९ जनाको पहिचान नखुलेका शव रहेका छन्। यी शवलाई माटोमुनि गाडेर व्यवस्थापन गरिएको हो।
यसैगरी, पहिचान हुन नसकेका ८७० वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन भएका छन्। प्रहरीले बाढी प्रभावित क्षेत्रबाट ४ हजार २७१ जनाको उद्धार गरिसकेको छ भने बेपत्ता भएका ४ हजार ५९९ जनाको खोजी कार्य जारी राखेको छ।
विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा हाल ३ हजार ४५३ जना रहेका छन्। तीमध्ये नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२९ जना रहेका छन्।