काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारका क्रममा हालसम्म ७३४ जनाको शव फेला परेको छ। बाढीको तीव्र बहावले शवहरू तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लासम्म पुर्याएको विवरणले देखाएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढीपछि अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। बेपत्तामध्ये विभिन्न सुरक्षा निकायका ८५ जना छन्। जसमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्।
त्यस्तै, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना कामदार समेत सम्पर्कविहीन रहेको जनाइएको छ। बाढीले पर्यटन क्षेत्रमा पनि ठूलो मानवीय क्षति पुर्याएको छ। सम्पर्कविहीन हुनेमा ५८९ जना विदेशी नागरिक तथा उनीहरूसँग रहेका १२७ जना नेपाली पर्यटन सहयोगीसमेत रहेको विवरणमा उल्लेख छ।
स्थानीय प्रशासनका अनुसार रसुवाबाट मात्रै ५६२ जना र नुवाकोटबाट ११५ जना बेपत्ता भएका छन्।
विपद्पछि खोज, उद्धार तथा राहतका लागि देशभरबाट १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार अभियानका क्रममा हालसम्म ८ हजार १८६ जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ।
भोटेकोशीको बाढीले मुख्यतः नदी आसपासका बस्ती, जलविद्युत् आयोजना, सडक तथा पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। बेपत्ताको खोजी र फेला परेका शवको पहिचान तथा व्यवस्थापनको काम अझै जारी रहेको छ।