रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। अविरल वर्षापछि माथिल्लो क्षेत्रबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब आधा दर्जन घर तथा गोठ पुरेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको थियो । उद्धार तथा खोजीका क्रममा बिहीबार बिहान थप एक जनाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतक थप हुनेमा ७१ वर्षीया मनरखी पुन मगर रहेकी छन् ।
घटनामा दुई जना घाइते भएका छन् । उद्धार गरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाउने तयारी भइरहेको छ ।
प्रहरीका अनुसार पहिरोमा परेर अझै नौ जना सम्पर्कविहीन छन् । बेपत्ता हुनेमा जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन् ।
घटनास्थलमा बिहीबार बिहानैदेखि सुरक्षा निकायका ठूलो संख्यामा टोली परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा विपद् उद्धार सामग्रीसहितको टोली घटनास्थलमा खटिएको छ ।
त्यस्तै, श्री सूर्यदल गण रोल्पाबाट प्रमुख सेनानी दीपेश खड्काको नेतृत्वमा नेपाली सेनाको टोली र सशस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली पनि उद्धार कार्यमा जुटेको छ । इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा प्रहरी टोलीसमेत खोजीमा सक्रिय छ ।
लगातारको वर्षाका कारण पहिरो थप खस्न सक्ने जोखिम रहेकाले उद्धारमा चुनौती देखिएको छ । जोखिमकै बीच सुरक्षाकर्मी र स्थानीयवासीले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।