काठमाडौँ। विश्वकप सेमिफाइनल खेलको ८५औँ मिनेटसम्म एक गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै अर्जेन्टिनाले इङ्गल्याण्डलाई २-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।
रोमाञ्चक दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले धैर्यता, अनुभव र आक्रामक खेलको उत्कृष्ट नमुना प्रस्तुत गर्दै हारको मुखबाट ऐतिहासिक जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इङ्ग्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता बनाएको थियो। त्यसपछि खेल इङ्ग्ल्यान्डको नियन्त्रणमा गएको जस्तो देखिए पनि अर्जेन्टिनाले हार मानेन।
कप्तान लियोनल मेस्सीको नेतृत्वमा टोलीले लगातार दबाब सिर्जना गर्दै खेलमा शानदार पुनरागमन गर्यो। दोस्रो हाफमै लगातार दुई गोल गर्दै अर्जेन्टिनाले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। अर्जेन्टिनाका एन्जो फर्नान्डेजले ८५औँ मिनेट र लाउटारो मार्टिनेजले इन्जुरी समयको ९०ं + २ मिनेटमा गोल गरे। दुबै गोल मेस्सीको असिस्टमा भएका हुन् ।
मेस्सी, जुलियन आल्भारेज, एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टरले अर्जेन्टिनाको आक्रमणलाई धार दिँदा इङ्ग्ल्यान्डका ह्यारी केन, जुड बेलिङ्घम, बुकायो साका र गोलकर्ता गोर्डनले अन्तिम समयसम्म संघर्ष गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
इङ्ग्ल्यान्डले सुरुआती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्नु नै पराजयको मुख्य कारण बन्यो। दोस्रो हाफमा अर्जेन्टिनाले खेलको गति पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिँदै इङ्ग्ल्यान्डको रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्यो। निर्णायक क्षणमा अवसरको सदुपयोग र मानसिक दृढताले अर्जेन्टिनालाई फाइनलसम्म पुर्यायो।
यस जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप फाइनलमा स्थान बनाएको छ। अब उपाधिका लागि अर्जेन्टिनाले सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गरेको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता पराजित इङ्गल्याण्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ।
विश्व फुटबलका दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेनबीचको फाइनल भिडन्तलाई यस विश्वकपकै सबैभन्दा बहुप्रतीक्षित खेलका रूपमा हेरिएको छ।