काठमाडौँ । अमेरिका, क्यानाडा र मेक्सिकोमा जारी २०२६ फिफा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल (अन्तिम १६) को समीकरण पूरा भएको छ। अन्तिम ३२ अन्तर्गतको अन्तिम खेलमा कोलम्बियाले घानालाई १–० ले पराजित गरेसँगै प्रिक्वार्टरफाइनल पुग्ने सबै १६ टोलीको टुंगो लागेको हो।
कोलम्बियाको जितमा खेलको १४औँ मिनेटमा जोन एरिआसले लुइस सुवारेजको पासमा गरेको गोल नै निर्णायक बन्यो। सोही गोलको आधारमा कोलम्बियाले अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।
पहिलो पटक ४८ टोलीको सहभागिता रहेको विश्वकपमा समूह चरणबाट ३२ टोली नकआउट चरणमा पुगेका थिए। अन्तिम ३२ का खेल सम्पन्न भएसँगै अब १६ टोली उपाधि दौडमा कायम रहेका छन् भने १६ टोली प्रतियोगिताबाट बाहिरिएका छन्।
प्रिक्वार्टरफाइनलमा स्थान बनाउने टोलीहरूमा क्यानाडा, ब्राजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्ग्ल्यान्ड, बेल्जियम, अमेरिका, स्पेन, पोर्चुगल, स्वीट्जरल्यान्ड, इजिप्ट, अर्जेन्टिना र कोलम्बिया रहेका छन्।
अन्तिम ३२ का खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–०, ब्राजिलले जापानलाई २–१, पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३, मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ तथा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेका थिए।
यस्तै फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्दतमा स्विडेनलाई ३–०, मेक्सिकोले इक्वेडरलाई २–०, इङ्ग्ल्यान्डले डीआर कङ्गोलाई २–१, बेल्जियमले सेनेगललाई ३–२ तथा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–१ ले हराएका थिए।
स्पेनले अस्ट्रियालाई ३–०, पोर्चुगलले क्रोएसियालाई २–१, स्वीट्जरल्यान्डले अल्जेरियालाई २–१ ले पराजित गर्दा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो। अर्जेन्टिनाले केप भर्डेलाई ३–२ तथा कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ को अन्तिम स्थान सुरक्षित गरेको हो। अब प्रिक्वार्टरफाइनलका रोमाञ्चक प्रतिस्पर्धाबाट क्वार्टरफाइनल पुग्ने आठ टोलीको टुंगो लाग्नेछ।