काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गए राति र आज बिहान सम्पन्न समूह चरणका खेलहरूमा घरेलु टोली क्यानडाले कतारलाई ६ -० ले पराजित गर्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।
यता समूह 'बी'कै स्विट्जरल्याण्डले पनि प्रभावशाली जित निकाल्दा समूह 'ए' का चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिएका छन्।
समूह ‘बी’ अन्तर्गत भएको खेलमा क्यानडाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै कतारमाथि ६-० को फराकिलो जित दर्ता गर्यो। क्यानडाको जितमा साइल लारिनले १६औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए। जोनाथन डेभिडले २९औँ, ४५+३औँ र ९०+२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। नाथन सालिबाले ६४औँ मिनेटमा एक गोल थप्दा कतारका मोहम्मद मनाईबाट ७५औँ मिनेटमा आत्मघाती गोल भयो।
खेलमा कतारले ठूलो झट्का बेहोर्नुपर्यो। होमाम अहमदले ३३औँ मिनेटमा र असिम मादिबोले ५३औँ मिनेटमा रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा सीमित बनेको थियो।
यो जितसँगै क्यानडाले दुई खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थान कब्जा गरेको छ। समान ४ अंक भए पनि गोलअन्तरका आधारमा स्विट्जरल्याण्ड दोस्रो स्थानमा रहेको छ।
समूह ‘बी’ कै अर्को खेलमा स्विट्जरल्याण्डले बोस्निया एन्ड हर्जेगोभिनालाई ४–१ ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। स्विट्जरल्याण्डको जितमा जोहान मान्जाम्बीले ७४औँ र ९०औँ मिनेटमा दुई गोल गरे भने रुबिन भार्गासले ८४औँ मिनेटमा तथा ग्रानिट झाकाले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल थपे। बोस्नियाका लागि एर्मिन माहमिकले ९०+३औँ मिनेटमा सान्त्वना गोल फर्काए। खेलको ८०औँ मिनेटमा बोस्नियाका तारिक मुहरेमोभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
यता समूह ‘ए’ को खेलमा चेकिया र दक्षिण अफ्रिकाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। खेलको छैटौँ मिनेटमा मिखाल सादिलेकको गोलबाट चेकियाले अग्रता लिए पनि दक्षिण अफ्रिकाका टेम्बा मोकोएनाले ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई हारबाट जोगाए। बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।