काठमाडौँ । फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिनाले प्रभावशाली सुरुआत गरेको छ। समूह ‘जे’ अन्तर्गत अमेरिकाको मिसौरी राज्यस्थित कन्सास रंगशालामा भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुखद बनाएको हो।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी नायक बने। उनले ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाए। खेलको १७औँ मिनेटमा रोड्रिगो डे पॉलको पासमा सुन्दर गोल गर्दै मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाका लागि मेसीले ६०औँ मिनेटमा दोस्रो गोल थपे। त्यसपछि ७६औँ मिनेटमा निको गोन्जालेजको पासलाई सदुपयोग गर्दै उनले व्यक्तिगत तेस्रो गोल पूरा गरे र विश्वकपमा अर्को ह्याट्रिक आफ्नो नाममा लेखाए। मेसी ८०औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए।
योसँगै मेसीको विश्वकपमा कुल गोल संख्या १६ पुगेको छ। उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका छन्। यसअघि फ्रान्सका केलिएन एम्बाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १४ पुर्याएका थिए।
अल्जेरियाविरुद्धको खेल मेसीका लागि अर्को ऐतिहासिक उपलब्धिको अवसर पनि बन्यो। उनले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन्। साथै यो उनको २७औँ विश्वकप खेल थियो। ह्यामस्ट्रिङ चोटबाट पुनरागमन गरेका मेसी विश्वकपका ६ संस्करण खेल्ने पहिलो फुटबलरसमेत बनेका छन्।
लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यसहित मैदान उत्रिएको अर्जेन्टिनाले पहिलो खेलमै आफ्नो दाबेदारी बलियो रहेको संकेत दिएको छ। इटाली र ब्राजिलपछि लगातार दुई विश्वकप उपाधि जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा रहेको अर्जेन्टिना समूह ‘जे’ मा महत्वपूर्ण तीन अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।
यसअघि समूह ‘आई’ मा नर्वेले इराकलाई ४–१ ले हराउँदै विजयी सुरुआत गरेको थियो। आर्लिङ हालान्डको दुई गोल प्रेरित नर्वेले सहज जित निकाल्दै तीन अंक जोडेको छ।