काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरेपछि खेल बराबरीमा टुंगिएको हो।
खेलको सातौँ मिनेटमा एलिजाह जस्टले गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा रामिन रेजाइयानले गोल फर्काउँदै इरानलाई १–१ को बराबरीमा ल्याए।
दोस्रो हाफको ५५औँ मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए। तर ६४औँ मिनेटमा मोहम्मद मोहिबीले गोल गरेपछि इरान खेलमा फर्कियो र खेल २–२ को बराबरीमा सकियो।
यो नतिजासँगै समूह ‘जी’ मा रहेका इरान र न्युजिल्यान्डले एक–एक अंक जोडेका छन्। यस समूहमा इरान, न्युजिल्यान्ड, बेल्जियम र इजिप्ट रहेका छन्। बेल्जियम र इजिप्टले पनि १-१ गोलको बराबरी खेलेका थिए।
त्यसैगरि,समूह ‘एच’ मा विश्वकप डेब्यु गरिरहेको केप भर्डेले युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ठूलो सनसनी मच्चायो। एटलान्टामा भएको खेलमा स्पेनले बलमाथि अधिकांश समय नियन्त्रण राखे पनि केप भर्डेको अनुशासित रक्षापङ्क्ति भेद्न सकेन। फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरूमा अपेक्षाकृत कमजोर मानिएका टोलीहरूले प्रभावशाली प्रदर्शन गर्दै बलिया प्रतिद्वन्द्वीलाई अंक बाँड्न बाध्य पारेका छन्।
यही समूहको अर्को खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ को बराबरी खेले। खेलको ४१औँ मिनेटमा अब्दुलेलाह अल-अम्रीको गोलमार्फत साउदी अरेबियाले अग्रता लिए पनि उरुग्वेका म्याक्सी अराउजोले ८०औँ मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाए।
समूह ‘जी’ मा बेल्जियम र इजिप्टले १–१ को रोमाञ्चक बराबरी खेले। इमाम अशोरको गोलबाट इजिप्टले पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा मोहम्मद हानीको आत्मघाती गोलका कारण बेल्जियम खेलमा फर्कियो। त्यसपछि दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल हुन सकेन।